अझै ढिके नुनको प्रयोग

इनेप्लिज २०७२ पुष १० गते १२:३६ मा प्रकाशित

salt_nun_dhikeजुम्ला, १० पुस । ताम्ती गाविस– ९ मछाली बुढाबाडा गाउँका स्थानीय बासिन्दाले अझै ढिके नुनको प्रयोग गर्दै आएका छन् ।

मछाली बुढाबाडा गाउँ जुम्ला र जाजरकोट सिमाना नजिक पर्छ । सदरमुकाम जुम्ला खलङ्गाबाट ४१ किमी दूरीमा पर्ने सो गाउँमा सहजै दुई बालबालिकाको चिह्न भएको प्याकेट नुन नपाउँदा ढिके नुन खान बाध्य हुनुपरेको स्थानीय तिलहरि पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो – “दुई बालबालिका भएको प्याकेटको नुन किन्न ताम्ती– ८ टोप्लागाउँमा जानुपर्छ र त्यो पनि रु ५० केजी पर्छ । त्यसभन्दा त ढिके नुन नै सस्तो छ । ढिके नुन र प्याकेटवाला नुनको मूल्यमा त्यति भिन्नता नभएकाले ढिके नुन खाने गरेको पुनको भनाइ छ ।

गाउँका सबैजसोले ढिके नुनको प्रयोग गर्ने गरेको अर्का स्थानीयवासी मगदुल शाहीले बताउनुभयो । बालबालिकाको छाप भएको प्याकेट नुनबाट आयोडिन प्राप्त हुन्छ भन्ने गाउँलेलाई थाहा नभएको शाहीले बताउनुभयो । उहाँका अनुसार प्याकेट नुनको फाइदा र ढिके नुनको बेफाइदाबारे मछालीगाउँमा हालसम्म कसैले जानकारी दिएको छैन ।

जाजरकोट जिल्लाबाट गाउँमा भित्रिने ढिके नुन गाईबस्तुसहित मानिसले पनि प्रयोग गर्दै आएको स्थानीयवासी बताउँछन् ।

मानव तथा पशु स्वास्थ्यमा पनि असर पु¥याउने ढिके खुल्ला नुनको प्रयोग गाउँ गाउँमा अझै हटेको छैन । खुल्ला ढिके नुन प्रयोग गर्दा आयोडिनको कमीले गलगाँड, लुलो लङ्गडो र रक्तचापका रोगी बढ्दै गएको पाइएको छ ।

वस्तुभाउले पनि कम दूध दिने र रोगी हुने जानकारहरु बताउँछन् । ढिके नुनमा आयोडिन अभावले रक्तचाप बढेर ज्यान जाने खतरा हुने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया