छ हजार तीन सय छ घरमा गोबर ग्यास जडान

इनेप्लिज २०७२ पुष १० गते १२:२१ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERAदाङ, १० पुस । इन्धनको अभाव भइरहेका बेला यहाँका अधिकांश घरमा भने गोबर ग्यास जडानसँगै सहजता भएको छ ।

दाङको देउखुरी क्षेत्रमा छ हजार ३०६ घरमा गोबर ग्यास जडान गरिएको छ । यस क्षेत्रमा बायो ग्यास जडान गर्ने उपभोक्ताको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ ।

भारतले गरेको नाकाबन्दीका कारण सहर बजारमा एलपी ग्यासको चरम अभाव भइरहेका बेला बायो ग्यास जडान गरिएका घरमा भने ग्यासको अभावको कुनै प्रभाव नै देखिएको छैन ।

राष्ट्रिय गोबर ग्यास कम्पनीले आव ०५२÷५३ देखि देउखुरीमा गोबर ग्यास बनाउने काम गर्दै आएको छ । यो कम्पनीले अहिले सम्म दुई हजार ३०० घरमा गोबर ग्यास जडान गरेको छ ।

त्यसैगरी नर्ती वन तथा वातावरण बहुउद्देश्यीय सहकारी संस्था लमहीले अहिलेसम्म दुई हजार ५०० उपभोक्ताको घरमा गोबर ग्यास जडान गरेको संस्थाका कोषाध्यक्ष जीवलाल खनालले जानकारी दिनुभयो ।

सहकारी संस्थाले २०६४ सालबाट गोबर ग्यासमा लगानी लगाउँदै आएको हो । विसं २०६५ देखि वन तथा वातावरण संरक्षण समन्वय समिति, गढवाले गोबर ग्यास जडान गर्न उपभोक्तालाई सहयोग गर्दै आएको छ । अहिलेसम्म ९४३ उपभोक्ताको घरमा बायो ग्यास जडान गरिएको समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयो ।

राप्ती सोलार पावर तथा गोबर ग्यास प्रालि, लमहीले देउखुरीका ५६३ घरमा गोबर ग्यास जडान गरिदिएको छ । बायोग्यास बनाउन सरकारले अनुदान दिँदै आएको छ ।

तराई क्षेत्रमा दुई घन मिटरको गोबर ग्यास बनाउन रु १६ हजार, चार घन मिटरको बनाउन रु २० हजार, छ घन मिटरको बनाउन रु २४ हजार र आठ घन मिटरको बनाउन रु २५ हजार सरकारले उपभोक्तालाई अनुदान दिँदै आएको छ ।

दलित, जनजाति, एकल महिला र द्वन्द्वपीडितको हकमा थप अनुदानको व्यवस्था रहेको राप्ती सोलार पावर तथा गोबर ग्यास प्रालि, लमहीका प्रमुख जोखुराम चौधरीले जानकारी दिनुभयो । थप अनुदान दुई घन मिटरमा दुई हजार, चार घन मिटरमा रु दुई हजार ५००, छ घन मिटरमा रु तीन हजार रहेको छ । आठ घन मिटरको गोबर ग्यास बनाउँदा थप अनुदानको व्यवस्था गरिएको छैन ।

गोबर ग्यास बनाउन चाहिने जम्मा लागतमध्ये आधा बढी रकम सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया