क्यान्सर अस्पताललाई पाँच लाखको सामान सहयोग

इनेप्लिज २०७२ पुष १० गते १२:१७ मा प्रकाशित

नगरकोट, १० पुस । बेलायतमा काम गर्ने नेपाली सिएमए नर्स माला गुरुङले भक्तपुर क्यान्सर अस्पताललाई करिब रु पाँच लाख बराबरको मेडिकल सामग्री सहयोग गर्नुभएको छ ।

सिएमए गुरुङले बिहीबार एक कार्यक्रमबीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलाई उक्त रकम बराबरको कोलोस्टोमी ब्याग, युरिन ब्याग, स्प्रेलगायतका मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नेपालमा सहयोग गर्न माया आउटरिच नामक संस्थासमेत स्थापना गर्नुभएकी गुरुङले गत पाँच वर्षदेखि नै भक्तपुर क्यान्सर अस्पताललाई सहयोग गर्दै आउनुभएको छ ।

मालाकी आमा बाला गुरुङको उपचार भक्तपुर क्यान्सर अस्पतालमै भएको थियो । आफ्नी आमाको क्यान्सर उपचार गरेकाले त्यसको कदरस्वरुप अस्पताललाई आफूले सक्दो सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

सहयोग बुझ्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले सार्वजनिक–निजी साझेदारीमा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा अहिले ९८ प्रतिशत क्यान्सरको उपचार भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले क्यान्सर उपचारका लागि अत्याधुनिक मेसिनका लागि सरकारसँग बजेट व्यवस्था गर्न माग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया