सुदूरपश्चिममा करिब तीन हजार क्षयरोगी भेटिए

इनेप्लिज २०७२ पुष १० गते २:१२ मा प्रकाशित

TB_20150208085516बैतडी, १० पुस । सुदूरपश्चिममा तीन हजार ३०० भन्दा बढी क्षयरोगका बिरामी रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

तीमध्ये एक हजार १३९ महिला र दुई हजार २२० पुरुष रहेको निर्देशनालयको तथ्याङ्क छ । आव ०७१÷७२ को तथ्याङ्कअनुसार सर्ने खालको क्षयरोगीको सङ्ख्या एक हजार ६४९ रहेको छ । जसमा ५४६ महिला र एक हजार १३० पुरुष रहेका छन् ।

क्षयरोगका बिरामीमध्ये ४२४ जना पुनः उपचार गर्नुपर्ने देखिएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक मनोज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो – “क्षयरोगको बिरामी पत्ता लगाउने लक्ष्यअनुसार ८७ प्रतिशत लक्ष्य प्राप्ति भएको छ, क्षयरोगका बिरामीमध्ये ७५ प्रतिशतमा फोक्सोको टिबी रहेको छ ।”

जनसङ्ख्याका आधारमा तथ्याङ्क लिँदा कञ्चनपुरमा सबैभन्दा बढी प्रतिलाख १८० जना क्षयरोगी रहेका छन् भने सबैभन्दा कम अछाममा प्रतिलाख ७० जना बिरामी रहेका छन् ।

सुदूरपश्चिममा प्रतिलाख १२५ जना क्षयरोगी भएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक ओझाले जानकारी दिनुभयो । क्षयरोगीमध्ये पनि १५–४९ उमेर समूहमा धेरै छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५५२ जना क्षयरोगी १५–४९ उमेर समूहका रहेका छन् ।

प्रतिक्रिया