काठमाडौँ, ९ पुस । दृष्टिविहीनका लागि प्रवेशिका परीक्षामा सोधिने गणित, विज्ञान र सामाजिक अध्ययनका प्रश्नपत्रलाई अब दृष्टिविहीनमैत्री बनाइने भएको छ ।
नेत्रहीन युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक खगेन्द्रप्रसाद नेपालले यस वर्षको परीक्षाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै आगामी वर्षमा लिइने परीक्षा दृष्टिविहीनमैत्री बनाइने बताउनुभयो ।
उहाँले देशभरका परीक्षा केन्द्रलाई भने यसै वर्षदेखि मैत्री बनाइने बताउँदै उनीहरुलाई गणित, विज्ञान तथा सामाजिक विषयमा सोधिने चित्र तथा नक्साका विषयमा तत्काल प्रश्नपत्रमा हेरफेर गर्न व्यावहारिक भएका विषयवस्तुलाई पनि वैकल्पिक प्रश्न सोधिने तयारी भएको जानकारी दिनुभयो ।
नेत्रहीन युवा सङ्घका अध्यक्ष कलाधर भण्डारीले परीक्षा प्रणाली नेत्रविहीनमैत्री बन्न नसकेकै कारण क्षमताशील विद्यार्थीले पनि क्षमताअनुसारको लब्धाङ्क ल्याउन नसकेको गुनासो गर्नुभयो ।
शिक्षा विभागका समावेशी शाखा प्रमुख गणेश पौडेलले त्यस्ता विद्यार्थीलाई प्राथमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणाली दृष्टिविहीनमैत्री बन्नुपर्ने बताउनुभयो ।
शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक जय लम्सालले सरकारले यसअघि नै शिक्षा सेवाको प्रश्नपत्र दृष्टिविहीनमैत्री बनाइसकेकाले मूल्याङ्कन प्रणालीमा भएका असहजतालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
दृष्टिविहीन शिक्षा सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलका प्रअ लाक्पा शेर्पाले दृष्टिविहीन विद्यार्थीलाई नक्सा तथा चित्रबाट सोधिने प्रश्न अव्यावहारिक भएकाले तिनको विकल्प वैज्ञानिक ढङ्गले खोजेर प्रवेशिका परीक्षालाई दृष्टिविहीनमैत्री बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यार्थी कुशल न्यौपाने, पार्वती श्रेष्ठ, भरत चौलागाईंलगायतले परीक्षा केन्द्र शान्त हुनुपर्ने र चित्रको स्थानमा वर्णन गर्ने वा ब्याख्या गर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
नेपालमा प्रत्येक वर्ष १०० देखि ११० दृष्टिविहीनले प्रवेशिका परीक्षा दिने गरेका छन् ।
प्रतिक्रिया