राजस्व सङ्कलन उत्साहजनक

इनेप्लिज २०७२ पुष ९ गते १२:५३ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ९ पुस । करदाताको सङ्ख्या बढेपछि जिल्लामा राजस्व सङ्कलन उत्साहजनक रुपले बढेको छ ।

गत साउनमा जिल्ला उद्योग वाणिज्य सङ्घको अगुवाइमा आन्तरिक राजस्व कार्यालय पोखरा, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिविस र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न क्षेत्रमा करसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेपछि २१७ नयाँ व्यावसायिक फर्म करको दायरामा आएका थिए ।

यसअघि जिल्लामा ३६२ करदाता थिए । अभियानसँगै जिल्लामा कर तिर्ने परम्परा बढेपछि राजस्व सङ्कलन बढेको कोलेनिकाले जनाएको छ । गत आवमा जिल्लामा रु आठ लाख १५ हजार ३०० राजस्व सङ्कलन भएकोमा चालु आवको पहिलो चौमासिकमा रु १० लाख २१ हजार ६५० राजस्व सङ्कलन भएको कोलनिकाका प्रमुख गोकर्णराज सूयलले जानकारी दिनुभयो ।

“अभियानपछि नयाँ करदाता थपिए, यसले जिल्लामा राजस्व सङ्कलन हुने क्रमलाई सहयोग पुगेको छ” उहाँले भन्नुभयो ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले व्यवसायी कर तिर्न तयार भए पनि प्रक्रिया नबुझ्दा विगतमा समस्या आएको बताउनुभयो । “साना तथा ठूला व्यवसाय गर्ने जो कोही कर तिर्न इच्छुक छन्, विगतमा सरकारले अभिमुखीकरणको अभ्यास गरेन्,” उहाँले भन्नुभयो, “हामीले सरकार र व्यवसायीबीच समन्वयको काम गरिरहेका छौँ ।”

प्रतिक्रिया