पर्वतका भूकम्पपीडितलाई न्यानो कपडा किन्न रकम वितरण

इनेप्लिज २०७२ पुष ९ गते ३:१३ मा प्रकाशित

फलेवास (पर्वत) ९ पुस । भूकम्प पीडितका लागि न्यानो कपडा किन्न जिल्लामा रकम वितरण गर्न थालिएको छ ।

जिल्लाको एक नगरपालिका र ४७ गाविसका भूकम्पपीडितलाई रकम वितरणका लागि गाविस र वडा सचिवमार्फत रकम निकासा दिएर वितरण गर्न पठाएको जिप्रका पर्वतले जनाएको छ ।

अहिलेसम्म एक नगरपालिकासहित २२ वटा गाविसले रकम निकासा लगिसकेका छन् । न्यानो कपडा किन्नका लागि पर्वतका पूर्ण क्षति भएका परिवारका लागि रु तीन करोड रकम विनियोजन भएको छ । जसमध्ये अहिलेसम्म रु एक करोड ८७ लाख ५० हजार निकासा लगिसकेको छ भने रु एक करोड १३ लाख निकासा लैजान बाँकी रहेको छ ।

कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म पर्वतमा पूर्ण क्षति भएकामध्ये ९०९ जनाका परिवारले र आंशिक क्षति भएका तीन हजार १६४ परिवारले राहत रकम बुझेका छन् । पर्वतमा एक हजार ७६४ पूर्ण क्षति भएका परिवार छन् भने नौ हजार ५१३ परिवार आंशिक क्षति भएको प्रारम्भिक विवरण छ ।

सरकारले पूर्ण क्षति भएका परिवारलाई न्यानो कपडाका लागि रु १० हजार रकम वितरण गर्ने घोषणा गरी सबै जिल्लामा निकासा पठाइसकेको छ ।

प्रतिक्रिया