वनले गर्दै सिमसार क्षेत्रको खोजी

इनेप्लिज २०७२ पुष ९ गते १:३५ मा प्रकाशित

तिलोत्तमा (रुपन्देही), ९ पुस । सिमसार क्षेत्रलाई संरक्षण गर्दै स्थानीयस्तरमा थप उपयोग गर्ने उद्देश्यले जिल्ला वन कार्यालय, रुपन्देहीले सिमसार क्षेत्रको यकिन विवरण सङ्कलन गर्ने अभियान सुरु गरेको छ ।

राष्ट्रिय सिमसार नीति, २०६९ लागू भएपछि जिल्ला वन कार्यालयले जिल्लामा जङ्गल तथा सार्वजनिक र निजी क्षेत्रमा रहेका सिमसार क्षेत्रको विवरण तयार पार्ने र स्थानीयस्तरमा सिमसारको महत्वका बारेमा प्रचारप्रसार गर्ने काम गरिरहेको छ ।

कार्यालयका वन अधिकृत इन्द्रबहादुर पछाईले जिल्लामा वन क्षेत्रमा रहेका सिमसारको सामान्य जानकारी भएपछि नीतिअनुसार सार्वजनिक र निजी क्षेत्रमा रहेका सिमसारको अध्ययन भइरहेको बताउनुभयो । उहाँले जिल्लामा वन क्षेत्रमा पर्ने मुख्यतः तीन स्थानहरु यकिन भए पनि अन्य क्षेत्रको खोजी भइरहेको बताउनुभयो ।

जिल्लामा हाल वन क्षेत्रमा करिब ६५ बिगाहा क्षेत्रफलमा फैलिएको गैँडहवा ताल, गजेडी ताल, नन्दभाउजू ताल सिमसार क्षेत्रमा रहेका छन् । अन्य तालतलैया, पोखरी, दह, आदिको विवरण खोजी गर्दै सिमसार क्षेत्रमा सूचीकृत गर्ने अभियान सञ्चालन भइरहेको छ ।

रुपन्देहीमा खास कति सिमसार क्षेत्र रहेको यकिन अझैसम्म नभएको जिल्ला वन अधिकृत पछाईको भनाइ रहेको छ । विश्व संरक्षण अनुगमन केन्द्रका अनुसार पृथ्वीको ५७ लाख वर्ग किमी क्षेत्रमा सिमसार रहेको छ जुन पृथ्वीको कुल क्षेत्रको छ प्रतिशत क्षेत्र हो ।

जसमध्ये दुई प्रतिशत ताल, ३० प्रतिशत भास, २६ प्रतिशत थलथल, २० प्रतिशत धाप र १५ प्रतिशत बाढ क्षेत्र रहेको छ । राष्ट्रिय सिमसार नीति, २०६९ का अनुसार नेपालको करिब सात लाख पचास हजार हेक्टर (करिब पाँच प्रतिशत) भू–भाग सिमसारले ओगटेको छ ।

नेपालमा विश्व सिमसार क्षेत्र रामसार क्षेत्र सूचीकृत भएका छन्, जसमा रुपन्देही जिल्लासँग जोडिएको कपिलवस्तु जिल्लाको जगदीशपुर तालसमेत पर्दछ ।

प्रतिक्रिया