हतियारसहित पक्राउ परेका सार्वजनिक

इनेप्लिज २०७२ पुष ८ गते १५:३० मा प्रकाशित

तुलसीपुर (दाङ), ८ पुस । तुलसीपुर बजारमा रहेको एक मोबाइल पसलमा मध्यरातमा ताला फोडेर मोबाइल चोरी गर्ने चार जना स्कुले बालक तथा हतियारसहित पक्राउ परेका एक जना गरी पाँच जनालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंका अनुसार सार्वजनिक गरिएकामा हतियारसहित पक्राउ परेका तुलसीपुर नगरपालिका–१९ कटाहाँका ४४ वर्षीय वीरबहादुर बस्नेत रहेका छन् ।

निजका साथबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोलीसहित पक्राउ गरेको सो अवसरमा जानकारी गराइएको छ ।

गत पुस ५ गते मध्यरातमा कटाहाँस्थित आफ्नै माछापोखरीको डिलमा बसी बस्नेतले कटुवा पिस्तोल हातमा लिई होहल्ला गरिरहेको अवस्थामा स्थानीयवासीको खबर प्राप्तपछि प्रहरी त्यहाँ पुगेर पक्राउ गरेको प्रसाईंले बताउनुभयो ।
उनीमाथि हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइएको छ ।

त्यसैगरी तुलसीपुरस्थित दोस्ती मोबाइल पसलबाट २४ थान मोबाइल चोरी गर्ने १४ वर्षदेखि १७ वर्षसम्मका बालकलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महेन्द्र मावि तुलसीपुरमा कक्षा ८ मा अध्ययन गर्ने तीन जना र एक जना कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेका छन् । ती चारै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

बजारमा रु चार हजारसम्म खरिद मूल्य पर्ने मोबाइललाई उनीहरुले चोरी गरेर रु २५० देखि ६०० सम्ममा बिक्री गरेको खुल्न आएको प्रसाईंले बताउनुभयो ।

साथी सङ्गत र परिवारको लापर्बाहीका कारण यस्ता स्कुले बालक चोरीमा संलग्न हुने गरेका छन् ।

प्रतिक्रिया