तराई मधेसको आन्दोलनमा छ बालबालिकाको मृत्यु

इनेप्लिज २०७२ पुष ८ गते १५:२६ मा प्रकाशित

काठमाडौँ, ८ पुस । केन्द्रीय बाल कल्याण समितिले तराई मधेसमा आन्दोलनका क्रममा गत साउनयता छ जना बालबालिकाको ज्यान गएको जनाएको छ ।

समितिले आज जारी गरेको विज्ञप्तिमा विभिन्न समूहले आआफ्ना स्वार्थका निमित्त बालबालिकाको प्रयोग गर्ने क्रम जारी रहेको बाल संरक्षणका दृष्टिले अत्यन्त गम्भीर विषय रहँदै आएको र छ जना बालबालिकाको ज्यान गइसकेको जनाएको हो ।

कुनै पनि विरोध आन्दोलनमा जोखिममा पर्नेगरी बालबालिकाको प्रयोग बढ्नु अत्यन्त चिन्ता र निन्दाको विषय र पछिल्लो पटक रौतहटको सदरमुकाम गौरमा आन्दोलनका क्रममा गत पुस ५ गते कक्षा १० मा अध्ययनरत शेख तबरेज आलमको मृत्युले स्तब्ध बनाएको समितिको भनाइ छ ।

राजनीतिक स्वार्थका लागि बालबालिकाको अधिकार उल्लङ्घन गरिनु हुँदैन भने बालबालिकाको संरक्षणको निम्ति राज्यका निकाय एवम् आन्दोलनरत पक्षलगायत अभिभावक, समुदाय सबै गम्भीर र सजक हुनु पर्दछ– विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया