खानेपानी वितरण प्रणाली सुधारका लागि सम्झौता

इनेप्लिज २०७२ पुष ८ गते १४:१६ मा प्रकाशित

SG_Myagdi-Khanipaniकाठमाडौँ, ८ पुस । काठमाडौँ उपत्यकाको खानेपानी वितरण प्रणालीको सुधारका लागि काठमाडौँ महानगरपालिका र काठमाडाँै उपत्यका कार्यान्वयन निर्देशनालय लिमिटेडबीच आज १२ बुँदै सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र आयोजना निर्देशक तेजराज भट्टले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा रद्रसिंह तामाङले खानेपानीका पाइपलाइन विस्तारपछि सडक खाल्टो रहिरहने विद्यमान अवस्था अब नदोहोरिने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा सडक भत्किएपछि नबनाएको भन्दै नागरिकले काठमाडौँ महानगरपालिका र खानेपानी लिमिटेडमा गुनासो गर्न थालेपछि विकास सम्झौता गरिएको तामाङको भनाइ छ । सडक खन्ने कार्य सुरु गर्नुभन्दा अगाडि स्थानीय बासिन्दालाई आयोजनाको कार्यक्रम (पुनःस्थापन) सम्बन्धी जानकारी गराउनुपर्ने बताइएको छ ।

सम्झौतापछि आयोजना निर्देशनालयका निर्देशक तेजराज भट्टले यसअघि भत्काइएका र अब भत्काइने सडकको पुनःनिर्माण तोकिएको समयभित्र सम्पन्न गरिसक्ने जानकारी गराउनुभयो । यसअघि भत्काइएको सडकखण्डमात्र कालोपत्र गरिन्थ्यो अब सडकको पूर्ण चौडाइ कालोपत्र गरिने भएकाले अबका दिनमा जनगुनासो कम हुने भट्टले बताउनुभयो ।

काठमाडाँै महानगरपालिका क्षेत्रभित्रका आठ मिटरभन्दा कम चौडाइका सबै सडक काठमाडौँ महानगरपालिकाको कार्यक्षेत्रभित्र परेको हुँदा उक्त सडकमा पाइपलाइन बिछ्याउन आवश्यकताअनुसार कार्य तालिका समेत आयोजना कार्यान्वयन निर्देशनालयले पेस गर्ने छ । सो कार्यतालिकाभित्र कार्य सम्पन्न हुन नसकेमा काठमाडौँ महानगरपालिकाले थप सडक खन्ने कार्य रोक्न सक्नेछ ।

सडक खन्दा स्थानीयलाई कम अवरोध होस् भन्ने हेतुले सडकको सम्भव भएसम्म एकातर्फबाट मात्र खन्ने र सो खण्डमा पाइप बिछ्याइ हालको सतहसम्म पुर्ने कार्य गरिसकेपश्चात् अर्को खण्डमा सडक खन्ने गरी आयोजना कार्यान्वयन निर्देशनालयले कार्यतालिका बनाउने र सोको जानकारी काठमाडौँ महानगरपालिकालाई दिइने छ । आयोजना कार्यान्वयन निर्देशनालयले लामो समयसम्म सडक अवरुद्ध नहुने गरी पुनःस्थापना समयावधिमा उल्लेखित समय तालिकाभित्र नै गर्ने गराउनेलगायतका बुँदा रहेको छ ।

प्रतिक्रिया