खोटाङमा एक व्यक्ति मृत फेला

इनेप्लिज २०७२ पुष ८ गते ६:५६ मा प्रकाशित

खोटाङ, ८ पुस । ज्यालादारीमा काम गर्दै आएका भोजपुरका एक व्यक्ति खोटाङमा मृत फेला परेका छन् । भोजपुर नगरपालिका–५ पानीट्याङ्कीका ५८ वर्षीय गोपाल तामाङ मृत फेला परेका हुन् ।

बाझेच्यानडाँडामा ब्रिटिस गोर्खा वेलफेयरको खानेपानी आयोजनामा ज्यालादारीका काम गर्दै आएका तामाङ खमातेबुसुरी भिरको फेदमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक काँशीनाथ रेग्मीले बताउनुभयो । तामाङको टाउकोमा ‘यू’ आकारको ठूलो चोट रहेकाले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डेरा लिएर बसेको ठाउँबाट मङ्गलबार बिहान साथीहरुलाई पिसाब फेर्न भन्दै हिँडेका तामाङ नफर्किएपछि खोजी गर्दा दिउँसो मृत फेला परेको उनका साथीहरुले बताएका छन् । रगतको टाटा पहिल्याउँदै जाँदा भिरसम्म टाटा भेटिएको र भिरको फेदमा शव भेटिएकाले तामाङको सोही भिरबाट खसेको अनुमान प्रहरीले गरेको छ । तामाङ भिरबाट २०० मिटर तल खसेको स्थानीयवासीको भनाइ छ । उनको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ ।

प्रतिक्रिया