उपत्यकाभित्रका ट्राफिक बत्तीले काम नगर्दा समस्या

इनेप्लिज २०७२ पुष ७ गते १५:१४ मा प्रकाशित

tlकाठमाडौँ, ७ पुस । काठमाडौँ उपत्यकाको सडकमा रहेका ट्राफिक बत्तीले काम गर्न नसक्दा समस्या परेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सडक चोकमा थोरै स्थानमा बत्ती हुनु र भएका बत्तीले पनि काम गर्न नसक्नुले ट्राफिक व्यवस्थापनमा समस्या परेको औँल्याएका छन् ।

विश्वमा ट्राफिक बत्ती जडान भएको ४७ वर्षपछि नेपालमा ट्राफिक बत्तीको सुरुवात भएको र ट्राफिक बत्ती जडान भएको ५० वर्षमा उपत्यकामा थोरै स्थानमा मात्र ट्राफिक बत्तीको जडान भएकाले ट्राफिक व्यवस्थापन चुनौती बनेको हो ।

ट्राफिक चुनौतीको सामना गर्न आगामी दिनमा के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले प्रहरी, सडक विभाग र यातायात व्यवस्था विभागले मात्र काम गरेर अहिलेको ट्राफिक समस्याको समाधान नहुने स्पष्ट पार्नुभयो ।

उहाँले ट्राफिक व्यवस्थापनमा ट्राफिकले मात्र नहुने भन्दै सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

सडक विभागका महानिर्देशक माधव कार्कीले केही वर्ष पहिले जोडिएका सडक बत्ती अहिलेको अवस्थामा काम नगर्ने भएकाले अत्याधुनिक प्रविधिमा जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा ट्राफिक व्यवस्थापनका लागि तत्काल गर्न सकिने सुधारका क्षेत्रमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने गरी एक समिति गठन गरेको छ ।

ट्राफिक बत्ती थप जडान गर्नुपर्ने ६६ स्थान रहेको र बेचालु १२ वटा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया