रकम हिनामिना भएको भन्दै विद्यालयमा तालाबन्दी

इनेप्लिज २०७२ पुष ७ गते ४:३४ मा प्रकाशित

जाजरकोट, ७ पुस । विद्यालयको रकम हिनामिना भएको भन्दै जाजरकोटको एक विद्यालयमा अनिश्चितकालका लागि तालबन्दी गरिएको छ ।

जिल्लाको पुन्मास्थित विजय माध्यमिक विद्यालय काफलचौरमा अभिभावक र विद्यार्थीले सोमबार प्रधानाध्यापकले रकम हिनामिना गरेको भन्दै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प भएको छ ।

आन्दोलनमा उत्रिएका अभिभावक र विद्यार्थीले प्रधानाध्यापक नरबहादुर घर्तीलाई एक घन्टासम्म कोठामा थुनेका थिए । विद्यालयको रकम हिनामिना गरेको, पाठ्यपुस्तक वितरण नगरेको, रु २४ लाख लागतको चारकोठे भवन समयमा पूरा गर्न नसकेको, गणित, विज्ञान शिक्षकको विज्ञापनको सूचना विद्यालयमा टाँस नगरी सूचना लुकाएको, नियमित पठनपाठन हुनुपर्ने, विद्यालयको आन्तरिक आयव्ययको विवरण प्रस्तुत गर्नुपर्नेलगायतका माग पूरा नभएसम्म विद्यालयमा लगाइएको ताला नखोल्ने विद्यार्थी भीमराज गौतमले बताए ।

प्रअ घर्तीले विद्यालयमा चरम लापरबाही गरेको भन्दै आन्दोलन गर्नुपरेको अभिभावक चक्रबहादुर मल्लले बताउनुभयो । तर प्रधानाध्यापक घर्तीले आफ्नो गल्ती नभए पनि पूर्वाग्रही भएर विद्यार्थी र अभिभावकले तालाबन्दी गरेको दाबी गर्नुभयो ।

विद्यालयको चारकोठे भवन निर्माणको विषयलाई लिएर गत एक वर्षदेखि उक्त विद्यालयमा अभिभावक र विद्यालय प्रशासनबीच विवाद हुँदै आएको छ । यसबारे जिल्ला शिक्षा कार्यालयले पनि छानबिन गरिरहेको बताएको छ ।

प्रतिक्रिया