प्रधानमन्त्री केपी ओलीप्रति हामीलाई फिटिक्क विश्वास छैन

इनेप्लिज २०७२ पुष ६ गते १६:०९ मा प्रकाशित

congress-Meeting

मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीसँग सरकारले आईतवार गरेको निर्णय, मधेस आन्दोलनसहित निकासको विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी

बार्ताको हलो कहाँ पुगेर अडकिएको छ ?
बार्ता गंभिरतापुर्वक अगाडि बढेकै छैन । विशेष गरी सीमांकनको विषयमा मैले बुझे अनुसार सत्ता पक्ष र नेपाली काग्रेस पनि सकेसम्म यथावत कायम रहोस भन्ने मनसायका साथ रहेकोले बार्ता त्यही आएर अडकिएको छ । अरु विषयमा पनि नेकपा एमालेले पहिला के पोजिसन राखेको थियो भने संविधान संसोधन गर्न नपरोस । तर तत्कालिन अवस्थामा नेपाली काग्रेस र नेकपा एमालेको सरकारले क्याविनेटबाट एउटा प्रस्ताव पारित गरेका थिए । अहिले संविधानमा भएको ब्यवस्था र त्यो सविधानमा खासै धेरै फरक छैन । समानुपातिकमा अलिक फरक रहे पनि निर्वाचन क्षेत्र निर्धारणको विषयमा खासै फरक छैन । त्यसमा परिमार्जन गर्ने विषयमा एमाले र काग्रेसभित्र पनि एउटा समझदारी नभईसकेको अवस्थामा कुराहरु अगाडि बढ्न सकेको छैन ।
मधेसको माग पुरा गर्ने गरी क्याविनेटले गरेको निर्णयलाई कसरी लिनु हुन्छ ?
यो त्यही प्रस्ताव हो जो हाम्रो अध्यक्ष महन्थ ठाकुरलाई भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराजले नेपालको परराष्ट्रमन्त्री कमल थापाले दिनु भएको कागज भनेर दिनु भएको थियो । त्यो प्रस्तावमा यहि कुरा उल्लेख छ जसलाई अहिले आएर क्याविनेटले स्वामित्व लियो । ठाकुरजीले त्यतीबेला पनि भन्नु भएको थियो हामीलाई दिनु पर्ने प्रस्ताव भारतलाई दिईयो भनेर ।
जहाँबाट आए पनि यो प्रस्ताव ठिक छ कि छैन ?
त्यतीले पुग्दैन । त्यो प्रस्ताव ठिक छैन । त्यसमा सीमांकन गर्नु पर्ने विषयमा हामीले उल्लेख गर्नु पर्ने विषय के छ भने अहिलेको संविधानमा आएको जुन प्रदेशहरु छन ती प्रदेशहरुको उल्लेख गर्दै त्यसमा हेरफेर गर्ने किटानीका साथ परिमार्जन गर्नु पर्ने टिओआरसहित आएको भए त्यसलाई सोच्न सकिन्थ्यो । त्यो तीन महिनालाई टार्न पछि आन्दोलन मत्थर हुँदै जान्छ देखाजाएका भनेर गरिएको निर्णय हो ।
विश्वासिलो आधार भयो भने तीन महिनामा टुङग्याउन सकिदैन ?
जे आएको छ, लेखिएको छ त्यसमा विश्वासिलो आधार छैन । समस्यालाई तीन महिना पन्छ्याउने हिसावले आएको हुनाले विश्वासिलो आधार छैन । त्यसैमा टओआरसहित आएको भए एउटा कुरा हुन्थ्यो । संविधानमा उहाँहरुले एउटा खाँका ब्यवस्था गरिसक्नु भएको छ । त्यो नगदमा छ । अहिले जे हुँदैछ त्यो उधारोमा एउटा राजनीतिक सहमतिमा जान सकिने कुरामात्रै हुँदैछ ।
शीर्ष नेताहरुले सीमांकनसहितको विषयमा प्रतिबद्धता ब्यक्त गरे तपाईहरु मान्नु हुन्छ ?
शिर्ष नेताहरु मुलुकमा कोही छैनन । यीनीहरुले आफै गरेको प्रतिबद्धतामा झुक्याउँदै आएका छन । नेपालको सरकार, राज्य र राजनीतिक दल विशेष गरेर ठूला दलहरुको के देखियो भने पहिले पनि सहमतिगरेर कार्यान्वयन नगर्ने समस्या मात्रै हो ।
सीमांकनमा केही समय थाति राखेर जान सक्दैनौ ?
विल्कुलै हुँदैन, अहिले आन्दोलनको मुल मुद्दालाई छाडेर के लिएर जाने । अन्तरिम संविधानमा जे थियो छाडेर जानु भयो । त्यसलाई पनि उहाँहरु अन्तरिम संविधानको भाषा अनुसार स्विकारेर अगाडि बढ्न सक्नु हुन्न । उहाँहरु कति प्रतिगामि हुनु हुन्छ भन्ने कुरा ब्यवहारले देखाएको छ ।
सरकारले निर्वाचन क्षेत्र निर्धारणको प्रक्रिया सुरु गर्ने भनेको छ ?
अन्तरिम संविधानमा ब्यवस्थासहितलाई मान्न नसक्ने यी प्राणी मनुवाहरु अहिले त्यसबाट पछाडी फर्किए र अहिले अन्तरिम सविधानमा जति लेखिएको थियो, जति मानिएको थियो त्यती सम्म पनि मान्न उहाँहरु तयार हुनु हुन्न । अहिले विश्वासै छैन, विश्वासको संकटमात्रै होईन ।
सरकारलाई त विश्वास गर्नु पर्यो होला नि ?
हामी गर्दैनौ । म ब्यक्तिगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गर्दै गर्दिन । मैले धेरै देशको प्रधानमन्त्री देखेको छु, सँगै काम गरेको छु । तर यो देशको प्रधानमन्त्रीले आन्दोलन र कसैको मान सम्मानलाई राख्न सक्दैन भने त्यसलाई के विश्वास गर्नु । आन्दोलनलाई जनावरहरुको आन्दोलन भन्ने । महन्थ ठाकुरले भन्नु भयो यो मान्छेले बोल्ने कुरै होईन भनेर भन्नुभयो । यस किसिमको गैरजिम्मेवार बोली बोल्ने प्रधानमन्त्रीलाई कसरी विश्वास गर्ने ।
मन्त्री परिषदले अनुमोदन गरेको साझा धारणामा तपाईहरुको सहमति हुँदैन ?
हुँदैन ।
त्यसो भए कसरी बार्ता हुन्छ, फेरि हिंसात्मक झडप सुरु भयो ?
यो झडप कुनै नयाँ घटना होईन । उहाँहरुले नै झडपमा लानु भएको हो । त्यत्रा शहीद भए, घाईते भए । अरुको आन्दोलन दुई चार दिनमा संबोधन भयो त्यसले मधेसीहरुको मनमा के पसेको छ भने हाम्रो आन्दोलन किन सफल हुन सकिरहेको छैन । यो आन्दोलन संबोधन गर्नु भनेको राष्ट्रिय एकतालाई मजबुद बनाउनु हो । होईन भने राष्ट्रिय एकता नै खल्बलिने सम्भावना मैले एकदमै देखिरहेको छु ।
राष्ट्रपतिमाथि तपाईहरुले जुन लाञ्छना लगाउनु भयो त्यसको सरकारले कडा प्रतिबाद गरेको छ नि ?
कस्ले लगायो ? यहाँ पत्र पत्रिका र पत्रकारहरुलाई पनि जिम्मेवार हुन म आग्रह गर्दछु । मैले बुझेको र त्यहाँका नेताहरुसँग कुरा गर्दा खेरी जुन बुट लगाए, कुकुरले सुघाएर मन्त्री भित्र गए त्यसले पनि आक्रोस उत्पन्न गरेको छ । त्यसले धार्मिकता खल्बल्याए । अर्को जानकी जीको जुन मुर्ति छ त्यो दर्शन गराउँदा हाम्रो राष्ट्रपति ज्यूले सोफामा बसेर मुर्तिनै आफ्नो नजिक ल्याउने स्थिति सृजना गर्नुहुँदैन थियो ।
सरकारले त राष्ट्रपतिको अपमान गर्नेमाथि कडा कारवाही गर्ने निर्णय गरेको छ ?
मधेसीहरुमाथि दुई अढाईसय बर्षदेखि कारवाही गर्दै आएको छ । फेरि पनि गर्ला । उसले मधेसी माथी कारवाही गर्नु बाहेक के नै गरेको छ र । राणाले गरे, राजाले गरे, पञ्चले गरे, प्रपञ्चले गरे, अर्धपञ्चले गरे, पुराना निर्दलबादीले गरे, अहिले पनि कम्यूनिष्टहरुले गर्ने त्यही हो ।
देशको राष्ट्रपतिमाथि गरेको यो दुब्र्यवहार सुहाउने कुरा भएन नि ?
पहिलो कुरा राष्ट्रपति जाने कुनै खास परम्परा पनि थिएन । राष्ट्रपति भनेको एउटा मर्यादित पद हो । उहाँ जानु भन्दा पहिला सूचनाहरु संकलन गरेर बुझ्नु पर्दथ्यो । दश दश हजार सेना लिएर जाँदा धार्मिक आस्थामा के असर पार्छ हेर्नु त पर्दथ्यो नि । मन्दीर भित्र कुकुर र बुट लिएर गएपछि आक्रोस बढ्नु स्वभाविक थियो ।
देशको राष्ट्रपति जानकीमन्दीर जान पाउनु पर्छ नि ?
राष्ट्रपति त जहाँ पनि जान सक्नु हुन्छ ।
तर तपाईहरुले त निषेध गर्नु भयो नि ?
राष्ट्रपति जहाँ पनि जान पाउनु पर्छ तर कुकुर र बुट लगाएर होईन ।
तपाईहरुले त विद्युवा जस्तो अपमानजनक शब्द पनि प्रयोग गर्नु भयो ?
कुनै ब्यक्तिले भने होलान । त्यहाँ गंगाजल छर्केको कुरा चाँही केवल कुकुर र बुटको कारण धोई पखालेको हो । प्रतिरोध भएको हो, दुब्र्यवहार भएको होईन ।
एमालेले त माफी माग्नु पर्छ भनेको छ नि ?
एमालेले मुडकट्टा आन्दोलनदेखि राजालाई दाम चढाएदेखि लिएर प्रधानमन्त्रीकोलागि टेण्डर हाल्ने देखि लिएर,आधा प्रतिगमन सच्चिएदेखि लिएर कतिमा माफी मागेको छ । यी सब कुराहरु छाडिदिऊ । त्यसको हामीसँग लामो फेहरिस्ट छ । राष्ट्रपति जानु अपराध होईन तर धार्मिक आस्थाको महत्वलाई पनि राख्न सक्नु पर्छ । त्यहाँ के देखियो भने राष्ट्रपति भन्दा पनि माननीय सभासदको रुपमा काम गरेको, उहाँको राष्ट्रपति हुन भन्दा अघि र भएपछि पनि एकाध पटक मधेसी र आन्दोलनको विषयमा जुन अभिब्यक्ति थियो त्यसप्रतिको आक्रोस हो ।
जनकपुर घटनामा तपाईहरुको गल्ती वा कमिकमजोरी भएको त हो नि ?
केही कमि कमजोरी भएको छैन । त्यहाँ जान उचित थियो कि थिएन बुझ्नु पर्छ । यो सुरक्षा निकायको परिचालन किन गर्नु पर्दथ्यो । खस आर्यको जनमत हाम्रो विरुद्धमा छ ।
खस आर्यलाई गाली गरेर मात्रै समाधान त हुँदैन ?
अनि मधेसीलाई सरापेर, विभेद गरेर, दास बनाएर समस्या समाधान हुँदैन । मधेसीलाई दास बनाएर राणाकालदेखिनै चलाएको विभेद कायमै छ । मधेसीलाई बहिस्करणमा पारेर समस्याको समाधान हुँदैन ।
आन्दोलन शिथिल बन्न थालेपछि तपाईहरु सेफ ल्याण्डीङ्गको योजना बनाउन थालेको समाचारहरु आउन थालेका छन ?
पत्रपत्रिकालाई होमवर्क दिएर आन्दोलन र मधेस चल्ने हो र । मधेसमा जीवन्त आन्दोलन छ, आन्दोलन रहन्छ । सीमांकन सहितका ११ बुँदे माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । नाकाबाट पनि हामी हट्दैनौ ।
नाकाबाट हट्न त भारतसहित जताततैबाट दवाव छ नि ?
त्यो यहाँलाई थाहाँ होला । हामीलाई त कतैबाट दवाव छैन । नाकामा जाँदा गोली चलाउने कुरा दवाव होला । दमनको चरम रुपत हामीले भोगि नै रहेका छौ । हाम्रो कुरा सुनिएन, कफ्र्यू निधेषाज्ञा लगाएर बस्न नदिएपछि हामी नाकामा गएका हौ । त्यसबाट अभाव भएको हो तर कालाबजारी गरेर यसबाट अरबौ कमाए ।

प्रतिक्रिया