बिरामीको दोस्रो बिकल्प आयुर्वेदिक उपचार

इनेप्लिज २०७२ पुष ६ गते ३:५१ मा प्रकाशित

aayurbedकाठमाडौँ, ६ पुस । काभ्रेकी २० वर्षीया सुस्मिता हुमागार्इंलाई बारम्बार तल्लो पेट दुखेपछि उहाँले एक वर्षसम्म एलोपेथिक (रसायनिक) औषधि खानुभयो तर निको नभएपछि अहिले उहाँ आयुर्वेदिक उपचारमा लाग्नुभएको छ ।

मानिस बिरामी भएपछि तुरुन्तै निको हुन चाहने भएका कारण ढिलो काम गर्ने आयुर्वेद उपचार गर्न चाहँदैनन् ।

गत वैशाखमा गएको भूकम्पपछि दुईवर्षे छोरीलाई दिसामा रगत जाने समस्या भएपछि काभ्रे, पाँचखालकी साधना शाहले पनि पटक पटक मेडिकलमा गई एलोपेथिक औषधि खुवाउँदा पनि समस्या निको हुने छाँट नदेखिएपछि उहाँले छोरीलाई लिएर नरदेवीस्थित आयुर्वेदिक औषधालयमा ल्याउनुभएको छ ।
“अरु औषधिले निको भएन त्यसैले आयुर्वेदिकले सन्चो होला कि भनेर यहाँ ल्याएको हो” – नरदेवीमा छोरीसँगै भेटिनुभएकी साधनाले भन्नुभयो ।
परम्परादेखि मानिसले आयुर्वेदलाई पनि अपनाउने गरेको भए पनि बढ्दो आधुनिक प्रविधि र उपचारमा भएको विकासले आयुर्वेदिक उपचार पछाडि पर्दै भएको अनुभवीको कथन छ ।
अठसट्ठी वर्षीय मङ्गलबहादुर परियार गत एक महिनादेखि नरदेवी अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ । नसाको समस्याका कारण उहाँको शरीरको बायाँ भाग नचल्ने भएको थियो । लमजुङ बेँसीसहर घर भएका उहाँले उपचारका लागि चितवन पुगी एक वर्षसम्म एलोपेथिक औषधि खानुभयो । तर निको भएन समस्या बढ्दै गयो ।

कतै उपचार गराउँदा पनि सन्चो नभएपछि उहाँ आयुर्वेदिक उपचारमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ – “कतै जाँच गराउँदा पनि भएन, एक पटक आयुर्वेदिक उपचार गरी हेरौँ भनेर यहाँ आएको निको पनि भइरहेको छ ।”

एक महिनाको लगातार उपचारले समस्या समाधान भइरहेको उहाँको अनुभव छ । तर, उहाँले अहिले एलोपेथिक र आयुर्वेदिक दुवै औषधि खाइरहनुभएको छ । चिकित्सककै सल्लाहले दुवै औषधि प्रयोग गरिरहेको उहाँको भनाइ छ ।

आयुर्वेदिक औषधालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादव प्रविधिमा आएको परिवर्तनले आयुर्वेदिक उपचार बिरामीको दोस्रो रोजाई भएको बताउनुहुन्छ ।

उहाँका अनुसार जैविक पदार्थबाट बनेको औषधिले रसायनबाट बनेको भन्दा ढिलो काम गर्ने र रोग पनि बिस्तारै निको हुने भएकाले बिरामीको पहिलो रोजाई एलोपेथिक उपचार रहने गरेको हो ।

मुख्य गरी कमलपित्त, बाथ, पायल्स, प्यारालाइसिस, फिस्टुला, नसा, पिनास, ग्यास्ट्रिकका बिरामी नरदेवी जाने गरेका छन् ।

लामो समयसम्म कडा खालका एलोपेथिक औषधि खाएपछि मात्र आयुर्वेदिक उपचारमा लाग्ने कारण पनि औषधिले काम गर्न अझ बढी समय लाग्ने चिकित्सकको भनाइ छ ।
रोग छिप्पिएपछि मात्र बिरामी आयुर्वेदको उपचारमा लाग्ने कारण पनि औषधिले काम गर्न अझ ढिला हुने चिकित्सकको निष्कर्ष रहेको छ ।

तर, कोही बिरामी भने एलोपेथिकले अन्य असर गर्ने भएका कारण पनि आयुर्वेदिक उपचार गराउने गर्छन् । स्वयम्भूका टोनी लामा एलोपेथिक औषधिका धेरै साइड इफेक्ट हुने कारण पनि आयुर्वेदिक उपचार गराउने गरेको बताउनुहुन्छ ।

नाकाबन्दीका कारण अहिले बिरामीको सङ्ख्या पहिलेको भन्दा कम भएको अस्पतालका वितरण शाखाका कर्मचारी सरस्वती पाठक बताउनुहुन्छ ।

खासगरी पञ्चकर्म (सेकाइ, मालिस)का लागि धेरै बिरामी नरदेवी पुग्ने गरेका छन् । तर लामो समयदेखिको नाकाबन्दीका कारण ग्यासको अभाव हुँदा सो सेवा प्रभावित भएको अस्पताल स्रोतको भनाइ छ ।

प्रतिक्रिया