भूकम्पपीडितलाई न्यानो कपडा किन्न रकम वितरण

इनेप्लिज २०७२ पुष १ गते ४:१३ मा प्रकाशित

भक्तपुर, १ पुस । जिल्ला प्रशासन कार्यालय जिल्ला दैवीप्रकोप उद्धार समिति भक्तपुरले जिल्लाका भूकम्पपीडितलाई न्यानो कपडा किन्नका लागि रकम वितरण सुरु गरेको छ ।

एक साताभित्र रकम वितरण गरिसक्ने गरी समितिले नगरपालिकालाई रकम निकासा गरेको छ । समितिले सम्बन्धित नगरपालिकामार्फत भूकम्पले घर पूर्ण रुपमा क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार रु १० हजारका दरले रकम वितरण गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक तोयम रायाले जानकारी दिनुभयो ।

भूकम्पबाट २६ हजार २८२ घर पूर्णरुपमा क्षति भएको छ । ती घरपरिवारलाई वितरण गर्न रु २६ करोड २८ लाख २० हजार लाग्नेमा समितिले हाल पेस्कीस्वरुप रु १३ करोड १४ लाख निकासा गरेको छ । जसअनुसार भक्तपुर नगरपालिकाका ६ हजार ४११ घरपरिवारलाई रु तीन करोड २० लाख ५० हजार, अनन्तलिङ्गेश्वर नगरपालिकाका तीन हजार ६२४ परिवारका लागि रु एक करोड ८१ लाख २० हजार र नगरकोट नगरपालिकाका पाँच हजार २०० परिवारका लागि रु दुई करोड ६० लाख निकासा गरिएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका चार हजार ६७ परिवारका लागि रु दुई करोड तीन लाख ३० हजार, चाँगुनारायण नगरपालिकाका पाँच हजार २८१ परिवारका लागि रु दुई करोड ६४ लाख र मध्यपुर थिमि नगरपालिकाका एक हजार ६९९ परिवारका लागि रु ८५ लाख गरी रु १३ करोड १४ लाख निकासा गरिएको छ ।
नगरपालिकालाई तत्काल ५० प्रतिशत रकम निकासा गरेको जानकारी दिँदै प्रजिअ रायाले लगेको रकम वितरण गरिसक्ने बित्तिकै बाँकी रकम निकासा गरिने जानकारी दिनुभयो । जाडो बढिसकेकाले आगामी एक साताभित्र रकम वितरण गरिसक्न नगरपालिकालाई निर्देशन दिएको प्रजिअ रायाले बताउनुभयो ।

भूकम्पबाट पूर्ण घर क्षति भएका पीडितमध्येका करिब १२५ परिवारको उजुरी परेकाले छानबिन भइरहेको जानकारी दिँदै उहाँले छानबिन सकिएलगत्तै निर्णय गरिने बताउनुभयो । भक्तपुर नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा रकम वितरण प्रभावित भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजाललाई नियम विपरीत काम गर्न दबाब दिएको भन्दै नगरपालिकामा नआई स्थानीय विकास मन्त्रालयमा आइतबारदेखि हाजिर भएपछि भूकम्पपीडितलाई रकम वितरणसमेत प्रभावित भएको छ ।

यसअघि समितिले भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माणका लागि रु ३६ करोड ४२ लाख ३० हजार, भूकम्पबाट मृत्यु भएका ३२९ को परिवारलाई किरिया खर्चबापत प्रतिव्यक्ति रु ४० हजारका दरले रु एक करोड ३१ लाख ६० हजार, मुत्यु भएका मृतकका परिवारलाई रु एक लाखका दरले रु दुई करोड ८७ लाख गरी हालसम्म कुल रु ५३ करोड ७९ लाख १३ हजार ४९३ रकम वितरण गरिसकेको छ ।

प्रतिक्रिया