पतिको स्मृतिमा मन्दिरलाई १३ लाख दान

इनेप्लिज २०७२ पुष १ गते ३:२५ मा प्रकाशित

बेनी (म्याग्दी), १ पुस । म्याग्दीको गलेश्वर शिवालय क्षेत्र विकास कोषको ज्येष्ठ नागरिक आश्रममा बस्ने एक वृद्धाले आफ्नो सम्पत्ति धार्मिक क्षेत्रमा सहयोग गरेकी छन् ।

राखुभगवती स्थायी घर भई पर्वतको बाजुङमा विवाह गरेकी ७७ वर्षीया भद्रा गिरीले स्वर्गीय पति हरि सिंहको सम्झनामा करिब रु १३ लाख सहयोग गर्नुभएको हो । जिल्लाको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा शिवलिङ्ग निर्माण, राजा भरतको मूर्ति, ज्येष्ठ नागरिकलाई भोजनको व्यवस्थापन गर्ने क्षेत्रलगायतमा सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव योगेन्द्र केसीले बताउनुभयो ।

“परोपकारी माता भनेर बोलाउँछन् । पूर्वाधार विस्तारमा धेरै सहयोग गर्नुभएको छ”, केसीले भन्नुभयो । विगत १५ वर्षदेखि ज्येष्ठ नागरिक आश्रममा बस्दै आउनु भएका गिरीले व्यक्तिगत रुपमा आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई औषधि खरिद, लत्ताकपडालगायतमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । “श्रीमान्ले मिहेनत गरेर कमाएको सम्पत्ति उहाँकै नाममा सहयोग गर्ने गरेको छु । अझै धेरै गर्नुछ”, गिरीले भन्नुभयो, “१०८ शिवलिङ्ग स्थापना गरेपछि आफूलाई झन् सहयोग गर्न मन लागेको छ ।”

“सम्पत्ति मात्रै राखेर हँुदैन, आफ्नो सहयोगले धेरैलाई राहत मिल्छ भने त्यो नै धर्म हो”, उहाँले थप्नुभयो । प्रत्येक वर्ष श्रीमान्को सम्झनामा धार्मिक क्षेत्रमै सहयोग गर्ने उहाँको भनाइ छ । गिरीले सहयोग गर्न थालेपछि आश्रमका अन्य ज्येष्ठ नागरिकले समेत सहयोग गर्न थालेको क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो । “गलेश्वर मन्दिर यो अवस्थामा आउनुमा दाता गिरीको महत्वपूर्ण भूमिका छ । उहाँ परोपकारिताको नमुना बन्नुभएको छ”, अध्यक्ष केसीले भन्नुभयो ।

दाता गिरीलाई कोषले सम्मानसमेत गरेको छ । यसैबीच गलेश्वरको मूल मन्दिरभित्र स्थापना गरिएको शङ्कर भगवान्को परिवार, दुर्गामाता, मृगसहितको राजा भरत र गलेश्वर बाबाको मूर्तिको अनावरण गरिएको छ । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्ति क्षेत्र प्रवेशद्वारका रुपमा चिनिन्छ । कृष्णागण्डकीबाट उठेर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया