समूहमा लागेपछि महिलामा परिवर्तन आयो

इनेप्लिज २०७२ मंसिर २८ गते ३:५० मा प्रकाशित

बेनी (म्याग्दी), २८ मङ्सिर । समूहमा आबद्ध हुन थालेपछि पश्चिम म्याग्दीका महिला आत्मनिर्भर बन्न थालेका छन् ।

हिमवन्ती, मिलन म्याग्दी, सङ्गमलगायतका गैरसरकारी सङ्घसंस्थाका साथै ग्रामीण भेगमा महिलाले नै सञ्चालन गरेका समूहले पश्चिम म्याग्दीका भकिम्ली, अर्मन, वरञ्जालगायतका गाविसका महिलालाई समूहमार्फत ऋण दिएपछि उनीहरू त्यसैबाट जीवन गुजारा गर्न थालेका छन् ।

गैरसकारी सङ्घसंस्थाले त्यहाँका ६० वटा महिला समूहलाई लघुवित्त, बचत कार्यक्रम सञ्चालन गरेपछि उनीहरूको जीवनशैलीमा परिवर्तन आएको हो ।

समूहमा लागेकालाई न्यूनतम रु पाँच हजारदेखि अधिकतम रु २५ हजारसम्म ऋण प्रदान गर्ने गरिएको छ । समूहमा लागेर ऋण लिएका एक हजार १५८ जना महिलाले अहिले कृषि, पशुपालन तथा व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।

रु १० हजार ऋण लिएर तरकारीखेती सुरु गरेकी ज्यामरुककोट रोहेटेकी कमला रिजालले अहिले चार रोपनी जग्गामा तरकारीखेती गरेर मासिक रु २० देखि ३२ हजारसम्म आम्दानी गर्न सफल भएकी छिन् । तरकारीखेतीबाट नै उनले परिवारको गुजारा चलाउनुका साथै दुईवटा छोरालाई बोर्डिङ स्कुलमा पढाएर पनि मासिक रु ८÷१० हजार बचत गर्ने गरेकी छिन् ।

“सुरुमा आर्थिकस्तर ज्यादै दयनीय थियो, खान लाउन नै मुस्किल पथ्र्याे”, उहाँले भन्नु भयो – “महिला बचत समूह त साँच्चिकै महिलाको सहारा नै बन्यो ।”

एक वर्षअघि ज्यामरुककोटलाई कार्यक्षेत्र बनाएर स्थापना भएको चेतना बचत समूहले महिलालाई विभिन्न शीर्षकमा रु २० लाख बढी लगानी गरेको छ । संस्थाले विभिन्न वडामा महिलालाई तरकारीखेती, पशुपालन, गोबरग्यास तथा साधारणतर्फ ऋण लगानी गरेको छ ।

त्यस्तै गौश्वाराकी तिलमाया नेपालीले व्यापारमा रु १५ हजार ऋण लिएकी छिन् । सोही व्यापारबाट उनी अहिले राम्रो आम्दानी गर्न सफल भएकी छिन् । व्यापार व्यवसाय सञ्चालन नगरुञ्जेल हातमुख जोर्न मुस्किल परेको उहाँले बताउनु भयो ।

विभिराबोटकी निर्मला सापकोटाले कुखरापालन गरेकी छिन् । ३०० वटा कुखराबाट व्यवसाय सुरु गरेकी सापकोटाको खोरमा अहिले दुई हजार कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । कुखुरापालन उनको आम्दानीको भरपर्दाे स्रोत बनेको छ ।

“ऋण लिएर कुखरापालन सुरु गरेकी थिएँ, अहिले त प्रत्येक चार महिनामा सबै खर्च कटाएर करिब रु ७० हजार फाइदा हुन्छ” – उहाँ भन्नु हुन्छ ।

लघु उद्यम, नेस्डो र चेतना महिला समूहले महिलालाई साधारणमा रु एक करोड पाँच लाख १२ हजार, अनुशासनमा रु २० लाख तीन हजार र गोबरग्यासमा रु पाँच लाख ३१ हजार ऋण लगानी गरेको छ ।

प्रत्येक महिना बस्ने बैठकले लगानी असुलीसमेत गर्ने भएकाले अन्य नयाँ समूहलाई समेत ऋण दिन सजिलो भएको चेतना महिला समूहकी अध्यक्ष तेजकुमारी कार्कीले बताउनुभयो । ।

यी संस्थाले चेतना महिला समूहको सिफारिसमा आठ प्रतिशत ब्याजदरमा लगानी गर्दैै आएको जनाएको छ । उनीहरूको बचतसमेत रु ९७ लाख पुगेको छ । लगानी गरेको साल रु ३४ लाख असुली भएको बताउँदै अध्यक्ष कार्कीले भन्नुभयोे – “अहिलेसम्म महिलाको आर्थिक स्थिति राम्रो भएको छ । समूहमा लाग्ने सबैको यसबाटै परिवारको गुजारा तथा आर्थिकस्तर वृद्धि भएको छ । समूहमा २७६ सदस्य रहेका छन् ।

प्रतिक्रिया