कृषि विकासका लागि विशेषबाली पकेट क्षेत्रः मन्त्री

इनेप्लिज २०७२ मंसिर २८ गते १:३० मा प्रकाशित

Haribol-Gajurelबनेपा, २८ मङ्सिर । कृषि मन्त्री हरिबोल गजुरेलले सरकारले दिगो कृषि विकासका लागि विशेष बालीको पकेट क्षेत्रको अवधारणा अघि सार्न लागेको बताउनुभएको छ ।

क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय पशु सेवा निर्देशनालयले तीन दिनदेखि बनेपाको बुडोलमा आयोजना गरेको प्रथम चौमासिक गोष्ठीको समापनमा उहाँले एक हजार ५०० वटा पकेट क्षेत्रको घोषणा गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गजुरेलले ७५ वटै जिल्लामा एक विशेष बालीको एक पकेट क्षेत्र हुने उल्लेख गर्दै कृषि नीतिमा आधारित भएर कृषि पेसालाई मर्यादित बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो,“बजेटको सीमाभित्र रहेर कृषि विकास नीतिको कार्यान्वयन हुनेछ ।” मन्त्री गजुरेलले संसद्बाट भूउपयोग नीति पारित भएको उल्लेख गर्दै त्यसले उत्पादन प्रक्रियालाई बढावा दिने बताउनुभयो ।

राष्ट्रिय अर्थतन्त्रको विकास कृषिबाट मात्रै सम्भव हुने कुरामा जोड दिँदै उहाँले कृषि क्षेत्रको गुणात्मक सुधार अहिलेको आवश्यकता भएको बताउनुभयो । १९ जिल्लाका कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, बीउबीजन प्रयोगशाला, माटो परीक्षण प्रयोगशाला, मत्स्य फार्म, कृषिफार्म, मौरीपालन, कृषि अनुसन्धान केन्द्रको गोष्ठीमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया