शिक्षकको तलब देउसी भैलोबाट

इनेप्लिज २०७२ मंसिर २८ गते १:१९ मा प्रकाशित

दाङ, २८ मङ्सिर । धेरैजसोले देउसी भैलोबाट सङ्कलित रकम रमाइला कार्यका लागि खर्च गर्ने गर्छन्, तर दाङको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट सङ्कलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको तलब भत्तामा खर्चने भएको छ ।

दाङ देउखुरीको लालमटिया–८ नयाँबस्ती श्रीचौर मसुरियामा रहेको नवज्योति निम्न माध्यमिक विद्यालयको, जहाँ ११ जना शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आएका छन् ।

एउटा दरबन्दी र दुईवटा राहत दरबन्दी रहेको यस विद्यालयमा आठजना निजी स्रोतबाट तलब भत्ता दिएर विद्यालय सञ्चालन भइरहेको छ ।

आर्थिक सङ्कलनका लागि तिहारमा यस वर्ष विद्यालयले शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, सल्लाहकार र अभिभावकको सक्रियतामा शैक्षिक सहयोगार्थ सञ्चालन गरिएको देउसी भैलोबाट रु ६१ हजार १५० सङ्कलन भएको विद्यालयकी प्रधानाध्यापक माया खनालले जानकारी दिनुभयो ।

सङ्कलित रकमको ९० प्रतिशत रकम निजी स्रोतका शिक्षक शिक्षिकाको तलब भत्तामा खर्च गरिने, १० प्रतिशत रकम शैक्षिक अवलोकन भ्रमणमा र उत्कृष्ट दान दिने दानदातालाई सम्मान कार्यक्रममा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिनुभयो ।

विद्यालयको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको भौलोबाट सङ्कलन भएको रकम तलबमा खर्च गर्न पाउँदा केही सहज भएको अध्यक्ष घर्तीले बताउनुभयो । सो विद्यालयमा हालसम्म निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षक शिक्षिकालाई तलब भत्ता अभिभावकले नै व्यवस्था गरिरहेका छन् ।

प्रतिक्रिया