एनआरएनको गर्व अध्यक्ष शेष घलेको संघर्ष

इनेप्लिज २०७२ मंसिर २६ गते १८:२४ मा प्रकाशित

unnamed

‘उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाल र नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै एनआरएनका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको ‘फेडेरेसन बिश्वबिद्यालय’ले ‘मानार्थ बिद्यावारिधी’ उपाधि प्रदान गरेको छ। बिश्वबिद्यालयले घलेलाई गत मे ६ तारिखमा उपाधि प्रदान गर्ने तालिका तय गरेको थियो। तर, अध्यक्ष घले भूकम्प प्रभावितलाई राहत प्रदान गर्न नेपालमा ब्यस्त रहेकाले समारोह स्थगित गरी डिसेम्बरका लागि सारिएको थियो ।

सन् २०१३ मा उनी अष्ट्रेलियन धनाढ्यको सूचीमा १ सय ८० औँ स्थानमा थिए। सन् २०१५ मा आएर उनी ९९ औँ स्थानमा उक्लिएका छन् । २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा परेका हुन्। यस्तो छ शेष घलेको संघर्षको कथा ।लमजुङको घले वस्तीमा २०१४ सालमा सामान्य किसान परिवारमा शेष घलेको जन्म भएको थियो। उनका एक भाई, एक दिदी र दुई बहिनी छन्। गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि मिडिल स्कुल पढ्न टाढा जानुपथ्र्यो । तर सानै भएकाले आमा उनलाई टाढा पठाउन तयार हुनु भएन । तर एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । त्यसपछि सात कक्षा पढ्न टाढाको दूराडाँडा जाने भए । दूराडाँडा जान घर छाडेको दिन उनी अहिलेपनि घरीघरी सम्झिन्छन् । ‘कतै नगएको म घर छाडेर टाढा जान पर्दा ग्वाँ–ग्वाँ रोएको थिएँ,’ उनी सम्झिन्छन्, ‘घर देखुन्जेल फर्कि फर्कि हेर्दै दूराडाँडातिर लागियो ।’

दूराडाँडामा उनी भर्ना भएको स्कुल २००९ सालमै हाइस्कुल भइसकेको थियो । गाउँमा एमए पास गरेका एक से एक थिए । उनी नेपाली पनि प्रष्ट बोल्न नजान्ने । ‘विदेश नगएको नेपाली एकैचोटी विकसित देशमा पुगे जस्तो भएको थियो,’ उनी भन्छन् । क्रमशः घुलमिल हुदै गएँ। संस्कृति बुझ्दै गएँ । पढाईमा उनी सुरुदेखि नै राम्रा थिए । तर उनीभन्दा अव्वल साथीहरु पनि थिए । तर ति गाउँतिरै हराए–बरालिए । दूराडाँडामा शेषसहित ४–५ जना डेरा लिएर बस्थे । खानको लागि चामल, दाल, नून, तेल घरबाटै आउथ्यो । आफै पकाएर खानुपथ्र्यो । वर्षा, जाडोको छुट्टीमा एकदिन पुरै हिंडेर घर आउँथे । वर्षे छुट्टीमा रोपाईमा सघाउँथे । रोपाई पहाडको गाउँको जीवन शैली अन्यत्रभन्दा फरक खालको हुन्छ । डाँडामा घर हुन्छ, बेसीमा खेती । वर्षा लागेपछि रोपाई गर्न सबैजना खेतमा जान्छन्। गोठमै बसोवास हुन्छ । भदौ लागेपछि गाउँ फर्किने तिहारपछि फेरी बेसी जाडोमा न्यानो हुने भएकाले बेसीमा बास। गर्मी सुरु भएपछि गाउँ अनि वर्षायाममा फेरी बेसी । वर्षायाममा छुट्टी हुने भएकाले दुई महिनाजति रोपाईमा व्यस्त हुन्थे । अरु बेलामा घाँस दाउरा गर्न स्वेच्छिक थियो । मन लागे गयो, नलागे कर हुन्नथ्यो । बाल्यकालमा गाउँमा यस्तै ढुंगा हानेर खेल्थे। ‘गुच्चा पनि बजार नजिकका भुराभुरीले मात्र खेल्न पाउँथे,’ उनी भन्दै थिए, ‘हाम्रो गाउँतिर गुच्चा किन्न पाइन्थेन ।’ तर अलि ठूलो भएपछि भलिबल खेलेको उनलाई याद छ ।

२०३० सालमा दूराडाँडाबाट एसएलसी दिनेमा उनी पनि थिए । स्कुल राम्रो भएपनि फस्र्ट डिभिजन कसैले ल्याउन सकेको थिएन । तर त्यही वर्ष उनीसहित तीनजनाले फस्र्ट डिभिजनमा पास गर्दा जिल्लामै हल्लीखल्ली भएको थियो । तर एसएलसी पास भएकै वर्ष कलेज जान पाएनन्, छिमेकी गाउँमा पढाउन थाले । सानैमा घर छाडेर पढ्न गएकाले आफ्नो संस्कृतिका कुरा धेरै थाहा थिएन । ‘मैंले एक वर्ष गाउमा पढाउँदा रोदीघर लगायतका आफना संस्कृति बुझने मौका पाएँ,’ अहिले सम्झिदा उनलाई त्यो एक वर्ष खेर गएन, बरु उपलब्धीमुलक भयो भन्ने लाग्छ । स्कुलमा नाटक गर्ने, कविता गीत रचना गर्ने जस्ता सिर्जनात्मक काममा पनि उत्तिकै सक्रिय थिए। तर उनीसँगै फस्र्ट डिभिजनमा पास भएका दुई साथी कलेज पढ्न सहर गइसकेका थिए । यसैले उनी पनि अर्को वर्ष पढ्न काठमाडौं हान्निए ।

एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ । पढ्नमा अव्वल उनले पुल्चोक इन्जिनियरिङमा नाम निकाले । कलेजमा पनि छात्रवृत्ति भेटाएपछि होस्टेलमा बस्न पाए । त्यतिबेला तत्कालिन सोभियत संघमा इन्जिनियरिङ पढ्ने मौका पाइन्थ्यो । सोभियत संघमा इन्जिनियरिङलाई सोच्दै उनी मेहनत गर्न थाले । प्रमाणपत्र पास गरेपछि लामोसाँघु–जिरी सडक निर्माण परियोजनामा एक वर्ष जागिर खाएका थिए, उनले । २० वर्षकै उमेरमा छिमेकी गाउँकी जमुनासँग विहे भयो ।

छात्रवृत्ति पाएपछि १९७९ मा उनी तत्कालिन सोभियत संघ पुगेका थिए । पढ्दा पढ्दै दूर्घटनामा खुट्टा भाँच्चिएर १८ महिना अस्पतालमा गुजार्न परेपछि उनलाई इन्जिनियरिङ सिध्याउन ७ वर्षभन्दा बढी लाग्यो । ‘खुट्टा ठिक नभएको देख्दा खुट्टा काटिन्छ कि जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘डिप्रेसनपनि भएको थियो।’ हाइवे इन्जिनियर बनेर १९८७ मा स्वदेश फिरेका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले । सबै कुरा ठिकठाक चलिरहेको थियो । जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक–सचिव पनि हुनसक्थे । तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो । एभरेष्ट होटलमा एजुकेशन फेयर हेर्न उनी गएका थिए । अष्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो । मेलबर्नको ठूलो तस्वीर टाँगिएको थियो । जोडेको जग्गा जमिन बेचेर उनले मेलवर्न जान आवेदन गरे।

मेलबर्नमा उनी साताको सातै दिन काम गर्थे, कलेजमा पनि नियमित विद्यार्थी थिए । एमबिए गरेपछि अलि राम्रै काम पाए । तैपनि उनी थप कमाईका लागि फलफूल टिप्न टाढासम्म पुग्थे । सन १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरुलाई परमानेन्ट रेसिडेन्ट दिने योजना ल्यायो । उनी सजिलै पिआर भइहाले । दिनरात मेहनत गरिरहेका उनले सन २००२ मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायीको सिंढी उक्लिन थालेको उनी बताउँछन ।

अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङ मिलेर अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा ‘मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी'(एमआईटी) संचालन गरिरहेका छन्, जहाँ करिव ३ हजार स्वदेशी तथा बिदेशी बिद्यार्थीले अध्ययन गरिरहेका छन् । एमआईटीले टेलिकम्युनिकेसन तथा मोवाइल प्रबिधि, नेटवर्क सेक्युरिटी, बिजनेसमा डिग्रि प्रदान गर्दछ ।यस्तै घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङमार्फत् भिक्टोरियाका ऐतिहासिक महत्वका पुराना भवन खरिद गरी ती भवनलाई जिर्णौद्धार गरेर संरक्षण गर्ने काम गरिरहेका छन् ।

मेलनवर्नको ऐतिहासिक र पुरानो सम्पदा मानिने ‘अर्गस’ भवन खरिद गरी त्यसको बाहिरी संरचनालाई पूर्व डिजाइनअनुसार निर्माण गरी भित्री संरचनालाई करिव ६ करोड ५० लाख अष्ट्रेलियन डलर (करिव ५ अर्ब रुपैयाँ) खर्च गरी आधुनिकिकरण गरिएको छ । सन् १९२० मा बनेको यो भवन सन् १९५७ यता प्रयोगविहीन थियो, जसलाई आधुनिकीकरण गरेर घले दम्पत्तिले एमआईटी कलेज संचालन गरिरहेका छन् । ब्यापारिक हितमात्र नहेरी सम्पदा संरक्षणमा योगदान दिएको भन्दै घले दम्पत्तिको कामले मेलवर्नका जनता र स्थानीय प्रसासनबाट प्रसंसा पाएको थियो ।

अष्ट्रेलियाको धनाढ्यको सूचीमा ९९ औं नम्बरमा रहेका घले र उनकी पत्नी जमुना एमआईटी ग्रुप फाउण्डेसनमार्फत् नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्बको परोपकारी कोष स्थापना गरेका छन् । सो कोषमार्फत् भूकम्प तथा नाकाबन्दीका बेला राहत प्रदान गरिएको छ भने हालै जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसुती गृह निर्माण गर्ने घोषणा गरिएको छ ।

लिनका लागि होइन दिनका लागि गरिने समाजसेवा र एनआरएन अभियानमा बितेका दुई बर्षको समीक्षा गर्दै घलेले भने, ‘काम गर्दा केहि गाह्रो अप्ठ्यारो भए होलान तर एनआरएनमा बितेको यो दुई बर्षको समय मैले खेर फालिन भन्ने लागेको छ। दुई वर्षको मेरो अनवरत यात्राले मलाई नेपाली समाजको भावना बुझ्ने र सिक्ने मौका दिएको छ, मैले गुमाएको होइन धेरै पाएको छु।’

‘संसारमा छरिएर रहेका नेपाली समाज फरक विषेशताका कारण पनि चिनिन्छन्। हामी जति छरिएर बसेपनि मुलुक दुख्दा एकजुट हुने हाम्रो सुन्दर पक्ष हो,’ घलेले भने। मुलुकमा भूकम्पको ताण्डब मच्चिदा प्रवासी नेपालीले देखाएको माया ममताले पनि जन्मभूमीप्रतीको कर्तब्यवोध झल्केको उनले बताए।

एनआरएनको कलेक्टिभ इन्भेस्टमेन्ट अन्तर्गत सामाजिक र ब्यवशायिक लगानी अगाडि बढिरहेको परिस्थितिमा त्यसलाई निरन्तरता दिने र यसलाई बढावा दिने कार्ययोजनाको तर्जुमा अहिलेको आफ्नो नीति रहेको उनले खुलासा गरे। ‘तँ आँट म पुर्‍याउँछु’ भनेझै एनआरएनले थालेका ठूला काममा अपार सहभागिता र सहयोग पाएको भन्दै संस्थाप्रतीको विश्वास बढेको तथा एउटा बिश्वासीलो साझेदारका रुपमा अगाडि बढेको घलेले दाबी गरे।

एनआरएन अभियानमा बितेको दुई वर्ष बित्दा धेरै कुरा सिक्न पाएको बताउँदै घलेले भने, ‘जीवनमा नसिकेका थुप्रै चिज रहेछन्, सिक्ने मौका पाइयो,’ संघर्षका दिन सम्झँदै घलेले भने, ‘प्रवासमा बस्ने हामी सबै नेपालीको एउटै कथा हो, प्रारम्भमा संघर्ष र स्थायीत्व। त्यसमा कोही साथी केहीमाथि पुग्नुभयो होला कोहीले फट्को मार्नुभयो होला। तर सबैको संघर्षका कथाहरु सामान्य उस्तै छन्।’

प्रतिक्रिया