नेपाली सेनाद्वारा पैदल मार्ग निर्माण

इनेप्लिज २०७२ मंसिर २६ गते ३:४३ मा प्रकाशित

धुन्चे (रसुवा), २६ मङ्सिर । नेपाली सेनाले ग्रामीण समुदायलाई आवतजावतमा सहज पार्न पैदल मार्गको निर्माण गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायण दल गणले धुन्चे गाविस–४ भिमली गाउँ क्षेत्रको गोरेटो बाटोलाई स्तरवृद्धि गरी घोडेटो बाटो निर्माण गरेको र त्यसबाट भिमली गाउँका बालबालिका विद्यालय जान र ग्रामीण समुदायलाई सदरमुकाम आउन÷जान सहज भएको स्थानीय बासिन्दाले बताएका छन् ।

जैविक विविधताको संरक्षणका लागि अहोरात्र खट्दै ग्रामीण समुदायमा बसोबास गर्ने संरक्षणप्रेमीलाई परेको असहजतालाई सहजतातर्फ अगाडि बढाउन नेपाली सेना नारायण दल गणले गरेको योगदान अतुलनीय रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले बताउनुभयो ।

यस्तै नारायण दल गणले गत वैशाख १२ पछि विपद् व्यवस्थापन लाङटाङ खाम्जिङ, धुन्चे–हाकुलगायतका स्थानमा बाटो निर्माण, गव्राङ राम्चेमा भएको बस दुर्घटनाको उद्धार, धुन्चे क्षेत्रको सरसफाइ, धुन्चे प्रवेशद्वारा नजिक हजारौँ बटुवालाई पिउने पानीका लागि धारा तथा ट्याङ्की निर्माण, भूकम्पपछि लाङटाङ गाउँ पुरिँदा हराएका मानिसको खोजउद्धारजस्ता कार्यमा ठूलो योगदान पुर्‍याइएको नागरिक समाजले जनाएको छ ।

प्रतिक्रिया