नाकाबन्दी चाँडै अन्त्य हुन्छ: पूर्वसभामुख नेम्वाङ

इनेप्लिज २०७२ मंसिर २५ गते ११:३४ मा प्रकाशित

subasnembangइलाम, २५ मङ्सिर । पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले सीमामा जारी अवरोध चाँडै हट्ने बताउनुभएको छ ।

पश्चिमी इलामको बाँझो–३ स्थित सिङ्गेश्वरी प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुहुँदै पूर्व सभामुख नेम्बाङले नाकाबन्दीका कारण मुलुक सङ्कटतर्फ उन्मुख भइरहेकाले नाकाबन्दी चाँडै अन्त्य हुने बताउनुभएको हो ।

देशकै समस्या देशभित्र नै छलफल र वार्ताको माध्यमबाट समाधान खोज्नुपर्नेमा मधेसवादी दलहरू भारत गएर निकास खोज्नु गलत रहेको टिप्पणी गर्नुहुँदै उहाँले आन्तरिक समस्यामा भारतले कुनै हस्तक्षेप गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

सत्तापक्ष र आन्दोलनरत दलहरूबीच बारम्बार वार्ता र संवाद भएकाले निकास निस्कने उहाँको भनाइ छ । लामो समयदेखि संविधान निर्माणमा लागिपरेको बताउँदै उहाँले क्षेत्र नं २ को विकास निर्माणमा आपूmले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले दमक–चिसापानी–रबि जाने सडकको स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गर्न आपूmले केन्द्रमा पहल गरिरहेको र चाँडै कालोपत्रसमेत हुने बताउनुभयो ।

यस्तै मोरङको मधुमल्लादेखि रबिसम्मको सडकलाई पर्याप्त बजेटको व्यवस्था गरिने बताउनुभयो । जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिकोणले पछाडि परेको बताउँदै उहाँले सडक, विद्युत्, खानेपानी र स्वास्थ्य क्षेत्रको विकासका लागि पहल गर्ने उहाँको भनाइ छ ।

उहाँले आजै दमकदेखि बाँझोसम्मको ‘विधाप्रसाद मार्ग’को उद्घाटनसमेत गर्नुभयो । यसैगरी विद्यालय ५० वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले प्रकाशन गरेको ‘विद्यालयको ५० पाइला’ भन्ने स्मारिकाको लोकार्पणसमेत गर्नुभयो ।

सो अवसरमा विद्यालयलाई सहयोग गर्ने चन्दादाता, समाजसेवी, जग्गादाता, वृद्धवृद्धा तथा शिक्षासेवीलाई सम्मान गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया