वृद्धाश्रमको अक्षयकोषका लागि एक लाख १० हजार सहयोग

इनेप्लिज २०७२ मंसिर २५ गते १:५१ मा प्रकाशित

पोखरा, २५ मङ्सिर । पोखरा उपमहानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रमको अक्षयकोषका लागि रु एक लाख १० हजार सहयोग प्राप्त भएको छ ।

पोउमनपा–३ नदीपुर बस्ने हर्कबहादुर पुर्जा (पुन)ले स्व श्रीमती लालकुमारीको स्मृतिमा रु ६० हजार १०१ र नदीपुरकै छपमाया गर्बुजाले स्व बुबा तीर्खमणि गर्बुजाको स्मृतिमा रु ५० हजार ५०० सहयोग रकम बिहीबार वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

वृद्धाश्रम सञ्चालनमा सहयोग पुर्‍याउनका लागि अक्षयकोषमा रु ६० लाख पु¥याउने लक्ष्य राखिएकामा हालसम्म रु १८ लाख १० हजार सहयोग प्राप्त भइसकेको जानकारी अध्यक्ष पराजुलीले गराउनुभयो ।

सो वृद्धाश्रममा नेपालका विभिन्न १३ जिल्लाका २८ महिला, २५ पुरुष र अन्य कामदारसहित ६२ जना बस्दै आएका छन् ।

बाल चित्रकला प्रदर्शनी

सतसट्ठिऔँ विश्व मानव अधिकार दिवसका अवसरमा राइट फर चिल्ड्रेनद्वारा यहाँ आयोजित बाल चित्रकला प्रदर्शनी सम्पन्न भयो ।

बालबालिकाको संरक्षण तथा बालअधिकारको प्रवद्र्धनका लागि संस्थाले बालबालिकाद्वारा नै बनाइएका बालअधिकारसम्बन्धी चित्रहरु प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा संस्थाद्वारा विभिन्न समयमा आयोजित चित्रकला प्रतियोगिताबाट सङ्कलन गरिएका उत्कृष्ट ७० चित्र राखिएको थियो ।

कार्यक्रम संयोजक केशु भुजेलका अनुसार प्रदर्शनीमा करिब दुई सय दर्शकले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया