आज बालाचर्तुदशी

इनेप्लिज २०७२ मंसिर २४ गते २:५३ मा प्रकाशित

satbijकाठमाडौँ, २४ मङ्सिर । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइएको छ ।

सद्बिज छर्न श्रद्धालु भक्तजनको बुधबार राति नै पशुपति क्षेत्रमा भीड लागेको थियो । सद्बिजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

आजका दिन मृगस्थलीमा सद्बिज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

परिवारका दिवङ्गत सदस्यको सद्गतिको कामनाका साथ मार्ग कृष्ण त्रयोदशीका दिन राति नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनले दीपदान गरेका छन् । धैरै भक्तजन दीपदान गरी रातभर पशुपतिनाथ मन्दिर परिसरमा नै सद्बिज छर्न जागराम बसेको थिए ।

गत वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका सम्पदा र सत्तल जीर्ण रहेकाले यस वर्ष जाग्राम बस्ने भक्तजनलाई चौरमा टेन्ट उपलब्ध गराइदिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

यस वर्ष भूकम्पबाट दिवङ्गत भएको परिवारका सदस्यको आत्माको चिरशान्तिका कामना गर्दै दीपदान गर्न र सद्बिज छर्न पुशपति क्षेत्रमा भक्तजनको भीडा लागेको छ ।

आज नुवाकोट, म्याग्दीलगायत देशका अन्य शक्तिपीठहरुमा पनि सद्बिज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।

प्रतिक्रिया