म्याग्दीमा साक्षरता अभियानको उपलब्धि कागजमै सीमित

इनेप्लिज २०७२ मंसिर २४ गते २:२७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २४ मङ्सिर । म्याग्दीमा सञ्चालित साक्षरता अभियान कागजमै सीमित बनेको छ । लाखौँ खर्च गरेर सञ्चालन गरिएको अभियान तथ्याङ्कमा सफल बने पनि व्यवहारमा असफल देखिएको हो ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा म्याग्दीका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत बासिन्दा साक्षर रहेको तथ्याङ्क छ तर अहिलेसम्म कुनै पनि गाविस र वडालाई साक्षर घोषणा गरिएको छैन । ९५ प्रतिशत लक्षित जनसङ्ख्या साक्षर भएको अवस्थामा साक्षर जिल्ला अथवा गाविस घोषणा गर्न सकिने नीतिगत व्यवस्था भए पनि तथ्याङ्कअनुसारको उपलब्धि व्यवहारमा नदेखिएपछि घोषणा हुन नसकेको हो ।

शिक्षा कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ३६९ जना मात्रै निरक्षर रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यालयका अनुसार म्याग्दीमा २०६८ सालमा १५ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२० जनसङ्ख्यामध्ये १६ हजार ५९० जना निरक्षर थिए । आव २०६८६९ मा आठ हजार ६६०, आव २०६९७० मा एक हजार ३१८, आव २०७०७१ मा २०६ र आव २०७१७२ मा विद्यार्थी परिचालन गरेर छ हजार ३७ जनालाई साक्षर बनाइएको कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले बताउनुभयो ।

साक्षरता अभियानको उपलब्धिका विषयमा अनुगमन हुन नसक्नु, समन्वय र आर्थिक स्रोतको कमीका कारण सक्षम भएर पनि म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्न नसकिएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बताउनुभयो । म्याग्दीका २४ वटा गाविसका ९५ प्रतिशतभन्दा बढी बासिन्दा अङ्क, अक्षर लेख्न, चिन्न र पढ्न सक्ने रहेकाले तत्कालै साक्षर घोषणा गर्न सकिने भए पनि बजेटको अभाव भएको जिशिअ अधिकारीको भनाइ छ ।

विभिन्न चरणमा सञ्चालन गरिएको साक्षरता कक्षामा सहभागी भएकाको सङ्ख्यालाई आधार मान्ने हो भने म्याग्दीका २.२२ प्रतिशत जनसङ्ख्या मात्रै निरक्षर छन् । चार वर्षयता सञ्चालित साक्षरता अभियानबाट १६ हजार २२१ जना निरक्षर साक्षर बनेको तथ्याङ्क छ । तर साक्षरता कक्षामा सहभागीले सिकेको कुरा बिर्सनु, निरन्तरताको कमी, दुर्गम क्षेत्रमा अभियान पुग्न नसक्नु, सहभागीको आकर्षण नहुनुजस्ता कारणले साक्षरता अभियानको उपलब्धि तथ्याङ्कमै सीमित रहेको सरोकारवालाले बताएका छन् ।

भौगोलिक रुपमा विकट र दुर्गम बस्तीका बासिन्दा साक्षरता अभियानबाट छुटेका सर्वोदय उच्च मावि भुरुङ तातोपानीका स्रोतव्यक्ति जयराम सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया