लोकमानले बदला लिन खोजे, राजनीतिक तहबाट कारवाही हुन्छ : पूर्व अर्थमन्त्री पाण्डे

इनेप्लिज २०७२ मंसिर २३ गते २१:१५ मा प्रकाशित

Surendra-Pandey

सुरेन्द्र पाण्डे, एमाले नेता तथा पूर्व अर्थमन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री, सांसद तथा पूर्व सांसदसहित २९ जना उच्च पदस्थ व्यक्तिहरुमाथि छानविन सुरु गरेको छ । यहाँसम्मकी कुनै सरकारी पदमा नबसेका व्यक्तिहरू पनि छानविनको दायरामा परेका छन् । अख्तियारले सम्पत्ति अनुसन्धानका भन्दै लागि ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन २९ जनाकै नाममा पत्र काटेको छ । जसमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेपनि परेका छन् । सफल अर्थमन्त्री एवं पारदर्शी मन्त्रीका रुपमा चिनिएका पाण्डेलाई अख्तियारले बोलाएपछि सबै जना चकित परेका छन् । धेरैले अख्तियारले पाण्डेसँग बदला लिन खोजेको अनुमान गरेका छन् । यसैविषयमा सत्तारुढ दल नेकपा (एमाले)का नेता समेत रहेका पूर्व अर्थमन्त्री पाण्डेसँग दैनिक नेपालले गरेको कुराकानीको सम्पादित अंशः तपाईलाई अख्तियारले किन बोलायो ? – केही थाहा छैन्, अख्तियारको पत्र पाएको छु । जहाँ अनुसन्धान गर्नुपर्ने भएकाले उपस्थित हुन आग्रह गरिएको छ । विषयवस्तुबारे केही जानकारी छैन् । तपाई र अख्तियारका प्रमुख आयुक्तबीच चर्काचर्की परेको सुनिन्छ । कतै त्यही कारणले हो की ? – पोहोर साल संसदीय समितिका चर्काचर्की परेकै हो तर, त्यो व्यक्तिगत होइन । अख्तियार संवैधानिक निकाय भएकाले संसदीय समितिले बोलाएको थियो । जहाँ संस्थागत विषयमा चर्काचर्की भयो । मलाई लाग्छ त्यही विषयलाई लिएर अख्तियार प्रमुख लोकमानसिह कार्की पूर्वाग्रही भए । के लोकमानले तपाईसँग बदला लिन खोजेका हुन् त ? – अख्तियारले अहिले चालेको कदम पूर्वाग्रही देखियो । राज्यको जिम्मेवार निकायले यसरी पत्र पठाउनु भनेको राजनीतिक क्षेत्रमाथीको हस्तक्षेप हो । यी सबै कुरा हेर्दाखेरी अख्तियारका प्रमुख आयुक्त लोकमानले बदला लिनै खोजेका छन् र रिस साध्न खोजेका छन् । अख्तियारले बोलाएको छ, अब के गर्नुहुन्छ ? – यस विषयमा पार्टीमा कुरा उठाएका छौं । पार्टीले जे निर्णय गर्छ त्यसैअनुसार अगाडि बढ्छौं । अहिले नै अख्तियारमा जाने नजाने निर्णय भइसकेको छैन् । अख्तियारको यो कदम राजनीतिक प्रसयबाटै आएको जस्तो लाग्छ । अख्तियारले पत्र काटेपछि तपाईको स्वच्छ छविमा कस्तो असर पर्ला ? – अख्तियारले पत्र काटेर मात्रै हुँदैन् । प्रमाणित हुनुपर्‍यो नी ? यसले केही असर गर्दैन । लोकमानलाई कारवाही गर्नुपर्ने आवाज पनि उठिरहेका छन् । यदि तपाईलाई लागेको अरोप प्रमाणित भएन् भने के गर्नुहुन्छ ? – अख्तियारले पूर्वाग्रही गरेको छ । यो समस्यालाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ । म एक्लैले गरेर हुँदैन् । जहाँसम्म कारवाहीको कुरा छ त्यो राजनीतिक तहबाट गलत कामको मूल्यांकन गरेर कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया