व्यवहारमा मानवअधिकारको प्रत्याभूति हुनुपर्छ: राष्ट्रपति भण्डारी

इनेप्लिज २०७२ मंसिर २३ गते १०:५८ मा प्रकाशित

Rss_Images_1449656500729_Pro_Ktm_President  (2)काठमाडौँ, २३ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले सिद्धान्तमा मात्र नभई व्यवहारिक रुपमा मानवअधिकार प्रत्याभूति हुनुपर्ने बताउनुभएको छ ।

वियोण्ड वेइजिङ कमिटी, राष्ट्रिय मानव अधिकार आयोगसहित १६२ वटा सङ्घसंस्थाले आज यहाँ आयोजना गरेको सातौँ मानवअधिकार राष्ट्रिय महाभेला–२०७२ को उद्घाटन गर्दै उहाँले नेपालमा मानवअधिकार सिद्धान्तमा मात्र नभएर प्रत्येकले अनुभूति गर्ने खालको हुनुपर्ने बताउनुभयो ।

“रुखको पात किन पहेँलो हुन्छ ?, हाँगाहरु किन सुक्छन् भनेर हाँगा काट्नुभन्दा पनि किन पहेँलो भयो ? भनेर रुखको जरामा मलजल पुगेको छ/छैन हेर्नु जरुरी भएजस्तै नेपालमा मानवअधिकारको पनि जरो नै बलियो बनाउन आवश्यक छ”–राष्ट्रपति भण्डारीले भन्नुभयो ।

घरघरमा मानवअधिकार पुर्‍याउने लक्ष्यअनुरुप काम गर्नुपर्ने भन्दै उहाँले नेपालमा गरिबी, परनिर्भरता बढी भएकाले व्यवहारिक रुपमा मानवअधिकारको उपयोग गर्न जरुरी छ भन्नुभयो ।

समाजमा महिला हिंसा, गालीगलौज, छुवाछूत व्याप्त भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले थप्नुभयो, “दलित समुदायमा मात्र होइन, महिनावारी, गर्भवती, सुत्केरी महिलालाई छुवाछूत गरिन्छ, जुन मानवअधिकार विरुद्ध हो, संसारमा यस्तो कहीँ सुनिएको छैन ।”

प्रकृतिले दिएको वरदानलाई पनि विभेद गरी अछुत मान्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उहाँले छुवाछूत भेदभावलाई दण्डनीय मात्र नगरी निषेध नै गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले नागरिकको मानवअधिकारलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको व्यवस्था गर्नु महत्वपूर्ण भएको र यसले प्रत्येकको मानवअधिकार संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले नयाँ संविधानमा महिला अधिकारका साथै समानता कायम गर्ने व्यवस्थाले धेरै हदसम्म महिलाको मावनअधिकारको संरक्षण गर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाँच्न पाउने अधिकारका लागि अहिले तराईमा चलिरहेको समस्यालाई आन्दोलनरत र सरकार दुवै गम्भीर भएर वार्ताकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष मनु हुमागाईँ, मानवअधिकारकर्मीद्वय चरण प्रसाईँ र शर्मिला कार्कीले नेपालमा मानवअधिकारको महत्वका साथ विकास हुँदै आइरहेको भएपनि त्यो पूर्णरुपमा प्रत्याभूत हुने अवस्था नरहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तीन दशक नेपाली राजनीतिमा क्रियाशील रहेर राष्ट्रपति बन्न सफल हुनुभएकोमा विद्यादेवी भण्डारीलाई महाभेला आयोजक कमिटीले नागरिक अभिनन्दन गरेको थियो भने मानवअधिकार वर्ष सम्मान–२०७२ द्वारा महिला सुरक्षा दबाब समूहका अध्यक्ष सावित्री थापालाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।

‘लोकतन्त्र, मानव अधिकार र समावेशीता: राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ भन्ने नाराका साथ सुरु भएको महाभेला तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया