कृषक कफीखेतीतर्फ आकर्षित

इनेप्लिज २०७२ मंसिर २३ गते १०:३१ मा प्रकाशित

coffee-khetiअर्घाखाँची, २३ मङ्सिर । बजारको सुनिश्चितता, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि जिल्लाका कृषक कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

तीन वर्षदेखि गबारोले बोट मरेपनि कफीखेतीप्रति कृषकको आकर्षण बढेको छ । अरु खेती जस्तो बढी समय दिन नपर्ने, कम लगानीमै उत्पादन हुने र सजिलै खेती गर्न सकिने भएपछि कृषक आकर्षित भएका हुन् ।

तीन वर्ष पहिला १४ टन पार्चमेन्ट र छ टन ड्राई कफी उत्पादन भएकामा गबारोले बोट मरेपछि गएको वर्ष उत्पादन घटेर ११ टन पार्चमेन्ट र तीन टन ड्राई कफीमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष एवम् कफी कृषक पुस्करनाथ बन्जाडेले बताउनुभयो ।

“यस वर्ष पनि गएको वर्षको हाराहारीमै कफी उत्पादन हुने आश गरेका छौँ” उहाँले भन्नुभयो । मूल्य र बजारको लागि कतै धाउनै नपर्ने भएपछि कृषक झन् उत्साहित बनेका छन् । छहारी व्यवस्थापन र गबारो नियन्त्रणसम्बन्धी सीप सिकाउन सरकार तथा सङ्घसंस्थाले पहल गरेमा कृषकलाई ठूलो राहत हुने बन्जाडेको भनाइ छ ।

जिल्लामा उत्पादन भएको कफी कोरिया, जापान, अमेरिकालगायत मुलुकमा निर्यात भइरहेको छ । विसं २०५८ देखि कफीखेती गर्न सुरु गरिएकामा अहिले जिल्लाको १७ गाविसमा उक्त खेती गरिँदै आएको छ । कफी उत्पादन र व्यावसायिकरणका लागि ४३ समूह र चार सहकारी गठन भएका छन् भने एक हजार १६५ जना कृषक खेतीमा आबद्ध छन् ।

जिल्लामा कफीखेती विस्तार गर्न सन्धिखर्क नगरपालिका– १० किमडाँडास्थित बन्जाडे नर्सरीमा २० हजार बिरुवा तयार हुँदैछन् ।

प्रतिक्रिया