ग्यास पाउने वा नपाउने भन्ने विषयमा बनेपामा झडप

इनेप्लिज २०७२ मंसिर २० गते १४:४४ मा प्रकाशित

बनेपा, २० मङ्सिर । ग्यास सिलिन्डर पाउने वा नपाउने भन्ने विषयमा लाइनमा बसेकाहरु र प्रहरीबीच आज बेलुका झडप भएको छ ।

बनेपाको सगर ग्यास उद्योगमा लामो समयदेखि लाइनमा बस्दा पनि ग्यास नपाएको आक्रोशमा प्रहरीमाथि ढुङ्गा प्रहार भएको र त्यसको जवाफमा प्रहरीले लाठी प्रहार गरेर भीडलाई तितर बितर गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

झडपका क्रममा केही प्रहरी र स्थानीयवासी घाइते भएको जानकारी आए पनि उनीहरुको नाम खुल्न नसकेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेन्द्रनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही व्यक्तिको उक्साहटमा सो घटना भएको थियो । “अहिले स्थिति सामान्य भइसकेको छ”, प्रहरी उपरीक्षक बास्तोलाले भन्नुभयो ।

स्थानीय बासिन्दाका अनुसार सगर ग्यास उद्योगको दुई बुलेट ग्यास वितरणका लागि बनेपा आएको थियो । झडपपछि स्थानीयवासी रित्तो ग्यास सिलिन्डर बोकेर घर फर्किन थालेका छन् ।

प्रतिक्रिया