मुलुकमा असहज स्थिति छ तर भयावह होइन: गृहमन्त्री बस्नेत

इनेप्लिज २०७२ मंसिर २० गते १४:१२ मा प्रकाशित

Shakti-basnetतिलोत्तमा (रुपन्देही), २० मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कालोबजारी र तस्करी रोक्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

नाकाबन्दी र तराई आन्दालनको बेलामा देखिएको कालोबजारी र तस्करी रोक्न सरकारले सबै तहबाट काम गरिरहेको भन्दै सीमा क्षेत्रमा हुने तस्करी रोक्न विशेष कदम चाल्ने बताउनुभएको छ ।

बुटवलमा आज लुम्बिनी अञ्चलका ६ जिल्ला र मकवानपुर र चितवनका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले मुलकमा अझै भयावह स्थिति नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलन र नाकाबन्दीले मुलकमा असहज स्थिति आएको छ । तर भयावह स्थिति चाहिँ होइन ।” सरकारले आपूर्ति व्यवस्था र शान्तिसुरक्षा कायम गर्नका लागि कुनै कसर बाँकी नराख्ने भन्दै असहज अवस्थामा कालोबजारी र तस्करी मौलाएकोप्रति सरकार सचेत र सजग रहेको बताउनुभयो ।

उहाँले तराईमा बाहिर चर्चा गरिए जस्तै भयावह अवस्था नभएको भन्दै तराईको समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले लगाएको नाकाबन्दी खोल्ने विषयमा कूटनीतिक रुपमा सरकारले कुनै कमजोरी नगरेको जिकिर गर्दैै छिट्टै खोलिने बताउनुभयो ।

सुरक्षा बैठकमा आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख र अनुसन्धान प्रमुखको सहभागिता रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताउनुभयो ।

गृह मन्त्रालयले यस्तो क्षेत्रीयस्तरको बैठक देशका विभिन्न ठाउँमा गर्ने योजना रहेको छ, जसअनुसार बुधबार पोखरामा गर्ने जनाएको छ । देशभरबाट आएका सुझाव र समस्यालाई समेटेर सुरक्षा रणनीति तयार गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया