संविधानको विषयमा मधेसमा भ्रम फैलाइएको छ

इनेप्लिज २०७२ मंसिर २० गते १३:४४ मा प्रकाशित

विराटनगर, २० मङ्सिर । संविधानमा सबैलाई समान अधिकार दिएको भएपनि मधेसी समुदायमा भने यस विषयमा भ्रम फैलाइएको छ ।

युवा सङ्घ नेपालको आयोजनामा विराटनगरमा आज आयोजित ‘नयाँ संविधान, नाकाबन्दी र मधेसमा जारी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलनबाट मधेसी जनता नै बढी पीडित रहेको, संविधानमा नेपाली जनताको हकअधिकार समेटिएको र संविधानमा उल्लिखित अधिकारको विषयमा जनतामा जानकारी गराउनुपर्ने सम्बन्धमा वक्ताहरुले जोड दिएका थिए ।

सो अवसरमा पूर्वमन्त्री महेश बस्नेतले मधेसकेन्द्रित दलले आफ्नो स्वार्थका लागि मधेसी जनतामा भ्रम सृजना गरेको उल्लेख गर्दै नयाँ संविधानमा समानुपातिक र समावेशीको पनि व्यवस्था रहेको बताउनुभयो ।

सांसद लालबाबु यादवले नेपालको इतिहासमा पहिलोपल्ट जनताले संविधान ल्याएको भन्दै संविधानमा मधेसीको माग समेटिएको छ तर पनि यस विषयमा भन्न र सम्झाउन नै गाह्रो भएको धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) मोरङका पूर्वअध्यक्ष विनोद ढकालले संविधान निर्माण हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै संविधानको विषयमा घरदैंलोमै जानकारी गराउनुपर्ने कार्य अभियानकै रुपमा सुरु गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार निरुदेवी पालले जनतालाई दुःख दिने कस्तो आन्दोलन हो भनी प्रतिप्रश्न गर्नुभयो । युवा सङ्घ कोसी अञ्चल समन्वय समितिका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया