सात पेट्रोल पम्पको बिक्री वितरण रोक्का

इनेप्लिज २०७२ मंसिर १९ गते ४:५० मा प्रकाशित

petrol-pump_thumbबनेपा, १९ मङ्सिर । काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात पुगेको छ ।

अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि उपभोक्ता ठगी गर्ने पम्पको सङ्ख्या सात पुगेको र उनीहरु सबैको बिक्री वितरण रोक्का भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेपलाञ्चोकमा रहेका पेट्रोल पम्पको थप अनुसन्धान गर्न नेपाल गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय, हेटौँडालाई जिम्मेवारी तोकिएको छ ।

केही दिनमा नै परिणाम आउन सक्छ उहाँले भन्नुभयो । विभागले सिलबन्दी गरी बिक्री वितरण रोक्का गरेको पम्पमा बनेपाको उग्रचण्डी आयल स्र्टोस, माता उग्रचण्डी आयल स्र्टोस, पाँचखालको पाँचखाल आयल स्टोर, माता पलाञ्चोक फ्युल सेन्टर, पनौती जय अम्बे र जनागालको नारायण आयल स्टोर रहेका छन् ।

यता पम्पको ठगी प्रकरणले काभ्रेपलाञ्चोकमा आउने तेलको परिणाममा कटौती भएको छ ।

दैनिक ३५ देखि ४० हजार लिटर डिजेल आएको जिल्लामा अहिले दैनिक १२ हजारदेखि १८ हजार लिटरसम्म डिजेल आएको पेट्रोलियम डिलर्स एसोसियसन काभ्रेपलाञ्चोकका उपाध्यक्ष अमुल तौजलेले जानकारी दिनुभयो ।

उहाँले कारबाहीमा परेका पम्पलाई आउने तेल अन्य पम्पलाई दिन नमिल्ने भएका कारण पम्पमा तेल कटौती भएको बताउनुभयो ।

प्रतिक्रिया