विकट गाउँका बालबालिकाको स्वास्थ्य परीक्षण

इनेप्लिज २०७२ मंसिर १८ गते १:४५ मा प्रकाशित

bal2फलेवास (पर्वत), १८ मङ्सिर । यहाँका दुई विकट गाविसका गरी साढे ३५० बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

चिसो मौसमका कारण बालबालिकामा विभिन्न लक्षण देखिन थालेपछि भुकताङले र भंगरा गाविसमा शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गरिएको हो ।

पर्वतका विभिन्न छ गाविसका २६ भन्दा बढी विद्यालयमा कार्यक्षेत्र बनाएर बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको असल छिमेकी नेपालले पर्वत सामुदायिक विकास परियोजनाको सहयोगमा भुकताङले र भंगरा गाविसमा छुट्टाछुट्टै स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

भुकताङले भएको शिविरमा १६० जना र भंगरा गाविसमा १५५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएका थिए ।

शिविरमा साधारण स्वास्थ्य परीक्षणसँगै दाँतको उपचारसमेत गरिएको थियो । भुकताङलेमा आयोजित शिविरमा अधिकांश बालबालिका दाँतको रोगबाट प्रभावित भएको भेटिएको थियो भने स्थानीय नवज्योति थम माविमा अध्ययनरत एक बालकको मुटुको दुवै भल्वले काम गर्न नसक्ने अवस्थामा भेटिएको छ । बालक अजित भण्डारीको थप उपचारका लागि संस्थाले जिल्ला स्वास्थ्य कार्यालय पर्वतसँगको समन्वयमा प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

संस्थाको कार्यक्षेत्रभित्र पर्ने पाङ, लिमिठाना, क्याङ, देउराली गाविसमा समेत क्रमशः शिविर सञ्चालन गरिने परियोजनाकी प्रशासकीय अधिकृत विष्णु ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया