आगलागी पीडितलाई राहत

इनेप्लिज २०७२ मंसिर १८ गते १:४४ मा प्रकाशित

पुनर्वास (कञ्चनपुर), १८ मङ्सिर । गत मङ्गलबार राति घरमा आगलागी हुँदा जलेर ज्यान गुमाएका पुनर्वासको ख गाउँका बालबालिकाका अभिभावकलाई गैरसरकारी संस्थाद्वारा बिहीबार राहत सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासले मृतक तीन बालबालिकाका पिता विष्णु खड्कालाई २५ केजी चामल, दाल, तेल, नुन, मसलाका प्याकेट, सोसाइटीको जिल्ला शाखाले त्रिपाल दुई थान, बाल्टिन, कम्बल र पकाउने भाँडा वितरण गरेको हो ।

मृतकका परिवारलाई बिहीबार नै कार्नेट नेपाल र सिविन नेपालले पनि कम्बल, सिरक र लत्ताकपडा वितरण गरेको छ ।

राति कोठामा सुतिरहेका बेला बालेको बत्तीबाट एक्कासि आगलागी हुँदा विष्णु खड्काका आठ वर्षीय छोरा अर्जुन, सात वर्षीया छोरी किरण र पाँच वर्षीया छोरी प्रियाको जलेर ज्यान गएको थियो ।

सो आगलागीबाट बालबालिकाकी आमा सरिता र तीन वर्षीय छोरा रोहित सकुशल रहेका छन् । सो आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

प्रतिक्रिया