भन्सार कर्मचारीकै मिलोमतोमा राजस्व छली

इनेप्लिज २०७२ मंसिर १७ गते ११:१४ मा प्रकाशित

तौलिहवा (कपिलवस्तु), १७ मङ्सिर । कपिलवस्तुमा भन्सार कर्मचारीकै मिलोमतोमा राजस्व छली हुने गरेको तथ्य भेटिएको छ ।

कृष्णनगर प्रहरीले केही दिनअघि भारतबाट भित्र्याइएको सुकेको सिद्रा माछा बोकेको ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा यसरी भन्सारकै कर्मचारीद्वारा नै राजस्व छली भएको तथ्य बाहिर आएको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरले छानबिनपछि भन्सार प्रज्ञापनपत्रमा कम परिमाण तथा न्यून मूल्य देखाइएको भेटाएको थियो ।

सुराकीका आधारमा प्रहरीले युपी ४३टी ६२०६ नम्बरको सिद्रा बोकेका ट्रकलाई नियन्त्रणमा लिएको केहीबेरमै सो तथ्यको पत्ता लागेको थियो । भन्सार कर्मचारीकै मिलोमतोमा कम परिमाण देखाई राजस्व छली गरेको जानकारी आएपछि आफूले ट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक नमराज भट्टराईले बताउनुभयो । पाँच हजार ५४० केजी सिद्रा रहेकामा भन्सार प्रज्ञापनपत्रमा तीन हजार ९०० केजीको मात्र भन्सार तिरिएको थियो । परिमाण फरक परेपछि आफूले तत्कालै सो ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा चलान गर्न निर्देशन दिएको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो ।

परिमाण र बजार मूल्य निकै फरक दखिएको उहाँको भनाइ छ । नियन्त्रणमा लिइएकाो मालसहितको ट्रक थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा चलान गरिएको छ ।

स्रोतका अनुसार राजस्व छलीमा कर्मचारीकै मिलोमतो हुने गरेको छ । गरिब नवाज माछा पसलको नाउँमा जारी प्रज्ञापनपत्रमा कम परिमाण तथा न्यून मूल्याङ्कन देखाउन निमित्त भन्सार प्रमुख यमबहादुर थापा, माछा व्यापारी लाल सैयद मुसलमान, भन्सार क्लियरिङ एजेन्ट र केही कर्मचारी संलग्न रहेको स्रोतको दाबी छ । सिमेन्टमा प्रयोग हुने क्लिङ्कर, जिप्सम, कोइला र कपडाको कम परिमाण र न्यूनतम मूल्य देखाइने गरिएको छ । यसले गर्दा सरकारलाई वार्षिक करोडौँको घाटा हुने गरेको छ । यता, कृषनगरका केही व्यापारीले भने प्रहरी र भन्सार कर्मचारीबीच कमिसनको कुरा नमिल्दा उक्त ट्रक नियन्त्रणमा परेको दाबी गरेका छन् । कमिसनको कुरा नमिलेर माल समातिएको नाम नबताउने सर्तमा एक व्यापारीले बताए ।

प्रतिक्रिया