कुटपिटपछि लुटेराले महिलाको गहना लुटे

इनेप्लिज २०७२ मंसिर १७ गते ११:०२ मा प्रकाशित

बैतडी, १७ मङ्सिर । नकाबधारी एक समूहले बझाङको लेकगाउँ र व्यासीको बीचमा पर्ने अनारखोली जङ्गलमा दुई महिलाका चार तोला सुनका गरगहना लुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बुधबार बेलुका दुईजनाको समूहले व्यासी–३ की ५१ वर्षीया कोशीदेवी जाग्री र व्यासी–३ कै २५ वर्षीया चन्द्रदेवी जाग्रीबाट कुटपिट गरीे करिब चार तोला सुनका गरगहना लुटेका हुन् । उहाँहरुको नाक, कान र घाँटीमा लगाएका गहनाहरु लुटेका र उहासँगै रहेकी एक अर्की २५ वर्षीया महिला विनुदेवी जाग्री भने भागेर बच्न सफल भएकी प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नकाबधारी समूहले अगाडिदेखि नै पिछा परी जङ्गलमा लुटेको हुन सक्छ ।” लुटिने महिलाहरु व्यासी–३ घरबाट लेकगाउँ–६ स्थित माइतीघर जान भनी हिँडेको बताइएको छ । कुटपिटपछि घाईते भएका दुइटै महिला स्थानीय अस्पतालमा उपचारपछि घर फर्किसकेका प्रहरी चौकी बिशौचौरले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक मानबहादुर बोहरा नेतृत्वको एक टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल बझाङ सदरमुकामबाट पाँच घन्टाको पैदल दूरीमा पर्दछ । लुटेराको खोजी गर्न जिल्ला प्रहरी कार्यालय र मटेला प्रहरी चौकीबाट बिहीबार थप प्रहरी खटाइने प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया