भारतीय नाकाबन्दीबारे अष्ट्रेलिया अनविज्ञ, नेपाली टोलीले गरायो जानकारी

इनेप्लिज २०७२ मंसिर १६ गते १४:४० मा प्रकाशित

u-19-nepali-teemक्यानबेरा, १५ मंसिर । नेपाली समूदायका अगुवाहरुको एक टोलीले आज अष्ट्रेलियाको क्यानबेरामा पुगी विपक्षी लेबर पार्टीको शीर्ष नेतृत्वसँग भेट गरेको छ । टोलीले छायाँ विदेशमन्त्री एवं लेबर पार्टीकी उपनेता तान्या प्लीवरसेक, छायाँ अर्थमन्त्री क्रिश ब्राउन, छायाँ अध्यागमन मन्त्री रिचर्ड माउथ, छायाँ नागरिकता तथा साना उद्योग मन्त्री मिशेल रोल्याण्ड, सिनेटर सेम डेस्नेवरी, एमपी जुलिया वेनसँग छुट्टाछुट्टै भेट गरेको हो । यसक्रममा नेपाली टोलीले भूकम्पको बेलामा अष्ट्रेलिया सरकारले नेपालमा गरेको सहयोगका निम्ति आभार व्यक्त गरेको थियो । यसैगरी पुननिर्माणमा समेत अष्ट्रेलियाको महत्वपूर्ण सहयोग हुनुपर्ने आग्रह समेत गरेको छ । टोलीले हाल देशमा भारतीय अघोषित नाकाबन्दीका कारण मानवीय संकट आउन लागेको भन्दै यसमा अन्तर्राष्ट्रिय समूदाय चुप लागेर बस्न नहुने बताएको थियो । ‘नेपालमा हाल चलिरहेको भारतीय अघोषित नाकाबन्दीको विषयमा जानकारी गराउँदा अधिकांश उच्च नेतृत्व यस विषयमा जानकार नभएको पायौं । हामीले यस विषयमा सबै यथार्थ बताएर सम्भव भएसम्मको कुटनीतिक पहल गरिदिन आग्रह गरेका छौं,’ भ्रमण टोलीका एक सदस्य एवं एनआरएनका पूर्वअध्यक्ष महेन्द्र ओलीले दैनिक नेपाललाई भन्नुभयो– ‘बिहीबार नाकाबन्दीको विरोध गर्दै नेपाली समूदायले संसद भवन अगाडि प्रदर्शन गर्न लागेको विषयमा पनि हामीले जानकारी दिएका छौं ।’ यसैगरी लेबर पार्टीको उच्च नेतृत्वसँगको भेटमा नेपाली टोलीले भारतस्थित अष्ट्रेलियन उच्चआयोगबाट दिइँदै आएको नेपालीलाई भिसा दिने प्रक्रिया नेपालकै दूतावासबाट गर्ने व्यवस्था मिलाउन माग गरेको छ । यस्तै, नेपाली विद्यार्थीहरुमा बढ्दै गएको सम्बन्ध विच्छेद गर्ने समस्यालाई सम्बोधन गर्न र सम्बन्ध विच्छेदपछि आएका विभिन्न समस्यालाई न्यूनिकरण गर्न पनि विशेष कार्यक्रम ल्याउन टोलीले माग राखेको छ । नेपाली टोलीले राखेका विभिन्न माग र जिज्ञासाको जवाफमा यी विषयलाई सम्बन्धित तहमा थप छलफल गरिने आश्वासन दिइएको छ । यस्तै, भूकम्पपछिको पुनर्निर्माणका लागि निकै चाँसो रहेको र उच्चस्तरीय भ्रमणको ईच्छा समेत व्यक्त भएको छ । बिहीबार एनआरएनले संसद भवन अगाडि प्रदर्शन र लिबरल, लेबर पार्टी लगायत विभिन्न निकाय र नियोगमा ज्ञापन बुझाउने कार्यक्रमको पूर्वसन्ध्यामा तपाईंहरुको यो भेट तय भएको हो ? भन्ने प्रश्नमा ओलीले भन्नुभयो– हाम्रो भेट पहिले नै तय भइसकेको थियो, मलाई लाग्छ यो भेटले बिहीबारको कार्यक्रमलाई थप मद्दत गर्नेछ ।’ टोलीमा एनआरएनका पूर्व अध्यक्षहरु गोबा कटुवाल, महेन्द्र ओली, गणेश केसी, एनआरएन आईसीसी सदस्य भूमादेवी लिम्बु, भरत पन्त, प्रेम सापकोटा, कृष्ण गिरी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया