‘काठमाडौँलाई अपाङ्गमैत्री बनाउने सङ्कल्प’: उपप्रधानमन्त्री मैनाली

इनेप्लिज २०७२ मंसिर १६ गते १४:३१ मा प्रकाशित

Cp-mainaliकाठमाडौँ, १६ मङ्सिर । उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले सरकारले अबको एक वर्षभित्रमा काठमाडौँलाई अपाङ्गमैत्री बनाउने तयारी गरेको बताउनुभएको छ ।

चौबीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन गठन गरिएको मूल आयोजक समितिको आजको बैठकमा उपप्रधानमन्त्री मैनालीले काठमाडौँलाई अपाङ्गमैत्री बनाउनका लागि सबैले सङ्कल्प लिनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री मैनालीको अध्यक्षतामा २४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यरूपमा मनाउन मङ्सिर ११ गते विभिन्न निकाय, गैरसरकारी सङ्घसंस्था तथा अपाङ्गता भएका व्यक्तिको सहभागितामा मूल आयोजक समिति गठन गरिएको थियो । बिहीबार अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

अपाङ्गता भएका व्यक्ति पनि समुदायका अन्य नागरिकसरह सम्मानित र मर्यादित नागरिक भएको उहाँको भनाइ छ । उहाँले अपाङ्गतासम्बन्धी सरकारले छिट्टै कार्यनीति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

“नयाँ संविधानमा अपाङ्गताको अधिकारलाई सुनिश्चित गरिएको छ, अपाङ्गतासम्बन्धी परिचयपत्र वितरण गरिएको छ, निःशुल्क शिक्षालगायतको अधिकार प्राप्त भएका छन्, यी प्राप्त अधिकारलाई जोगाउँदै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ”–उहाँले भन्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्ग अधिकारसम्बन्धी पुनर्लेखन गरिएको ऐनलाई चाँडोभन्दा चाँडो लागू गर्नुपर्ने माग गर्नुभयो । यस वर्षको दिवसको नारा ‘अर्थपूर्ण समावेशीकरणःसबै क्षमताका व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने रहेको छ ।

प्रतिक्रिया