तिघ्राको गोली कता बेपत्ता ?

इनेप्लिज २०७२ मंसिर १६ गते २:५७ मा प्रकाशित

goliझापा, १६ मङ्सिर । ‘हिजोआज झापा प्रहरीको काम गर्ने शैली बुझिसक्नु छैन । थाहै नपाई गोली चल्छ,’ शुक्रबार प्रहरीको गोली लागी एक महिला घाइते भएपछि भद्रपुरका बासिन्दा यसो भन्दै थिए । सुपारीको विषयमा प्रहरीले फायरिङ खोल्यो । तर, फायरिङ गर्नुको कारण अझै खुल्न सकेको छैन ।

स्थानीय व्यापारी र नेपाल प्रहरी बिच सुख्खा सुपारीको बिषयमा झडप भई गोली चल्दा एक महिला घाइते भएको बताइन्छ ।  दक्षिणी सिमावर्ती गाविस केचना– ५ स्थित लोडाबारीमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीया द्रोपदी गणेश भाइते भएकी हुन् । उनको तिघ्रामा गोली लागेको थियो ।

तर, स्थानीयका अनुसार उनी घरबाट शौचालय जाँदै थिइन् । सो क्रममा प्रहरीले १२ राउण्ड गोली चलाएको बताइएको छ । प्रहरीले ज्यादती गरेको स्थानीयको आरोप छ । केचनाबाट भारततर्फ सुख्खा सुपारी लगिरहेको सूराक पाएपछि प्रहरी निरीक्षक गणेश कोइरालाको नेतृत्वमा खटिएको प्रहरी टोलीले दशगजा क्षेत्रबाट ४२ बोरा सुख्खा सुपारी बरामद गरेको झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहाल बताउँछन् । बरामद सुपारी जिल्ला प्रहरी कार्यालय झापा ल्याउने क्रममा विहान ६ बजे झडप भएको उनको भनाइ छ ।

अन्दाजी दुइ सयको संख्यामा स्थानीयले प्रहरी टोलीमाथी आक्रमण सुरु गरेपछि झडपलाई सामान्य बनाउन प्रहरीले १२ राउण्ड गोली चलाएको प्रहरी प्रवक्ता दाहाल बताउँछन् । झडपमा प्रहरीतर्फ सई विष्णु सापकोटा र प्रहरी जवान निर्मल नेपाल सामान्य घाइते भए । गोली लागेर घाइते भएकी द्रोपदीको दाहिने तिघ्राको हड्डी भाँचियो । डाक्टरले गोलीसमेत भेटेनन् ।

बरामद सुपारी प्रहरीले सोही दिन मेची भन्सार कार्यालय काँकरभिट्टा बुझायो । स्थानीयका अनुसार केचना ५ स्थित धर्मेन्द्र यादवको घरमा कोठा भाडामा लिएर स्थानीय व्यापारीले आन्तरिक राजश्व कार्यालयमा दर्ता गराई सुख्खा सुपारीको कारोबार गर्दै आइरहेका थिए । सोही घरमा सादा पोशाकमा प्रहरीले छापा मार्न खोज्दा स्थानीयले प्रतिकार गरेको र भोलिपल्ट विहान त्यहाँबाट जबरजस्ती प्रहरीले सुपारी लैजाने क्रममा दुवै पक्षबिच झडप भएपछि प्रहरीले अन्धाधुन गोली चलाएको थियो ।

प्रतिक्रिया