कैदीबन्दी कल्याण कोषमा एक लाख ३० हजार सङ्कलन

इनेप्लिज २०७२ मंसिर १६ गते २:२३ मा प्रकाशित

फलेवास (पर्वत), १६ मङ्सिर । पर्वत जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि स्थापना गरिएको कल्याण कोषमा रु एक लाख ३० हजार सङ्कलन भएको छ ।

विभिन्न सङ्घसंस्था, व्यापारी तथा समाजसेवीबाट सो रकम सङ्कलन भएको हो । कारागारमा रहेका कैदीबन्दीले आयआर्जनका काम गर्न आर्थिक सहायता दिने उद्देश्यले कल्याण कोष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतको पहलमा सामुदायिक सेवा समाज पर्वतमार्फत सञ्चालन हुने गरी उक्त कोष स्थापना गरिएका प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा अझै रकम सङ्कलन हुने क्रम जारी रहेको छ । मङ्गलबारसम्म सङ्कलन भएको उक्त रकम अञ्चल प्रहरी कार्यालय धौलागिरिका वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले सामुदायिक सेवा समाज पर्वतका अध्यक्ष मानकुमारी गिरीलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक जोशीले कैदीबन्दीलाई कारागारभित्र रहँदाको अवस्थामा पनि आयआर्जनका क्रियाकलाप गर्न सहज हुने भएकाले उक्त रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

कोषबाट निश्चित रकम लिएर कैदीबन्दीले कारागारभित्रै सानोतिनो उद्यम गर्न सक्ने र त्यसबाट हुने आम्दानीले घरपरिवारलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।
पर्वत कारागारमा रहेका कैदीबन्दीले अहिलेसम्म बाँसको मुढा, प्लास्टिकका पेटी, नाम्लो लगायतका सामग्री तयार पार्दै आएका छन् । यस्ता सामग्री तयार पार्नका लागि बाँस किन्नसमेत पैसाको अभाव हुने भन्दै लामो समयदेखि कैदीबन्दीले कल्याणकोषमार्फत ऋण सहयोगको व्यवस्था गर्न माग गर्दै आएका थिए । अहिले जिल्ला कारागारमा ७० जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया