आर्थिक क्षेत्रका समस्या समाधान गर्न सरकार क्रियाशील छ: अर्थमन्त्री

इनेप्लिज २०७२ मंसिर १५ गते ११:१६ मा प्रकाशित

bishnu-paudelकाठमाडौँ, १५ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको आर्थिक क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सकार क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वार्ताको माध्यमबाटै तराई–मधेसका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वार्ता र सहमतिको माध्यमबाटै वर्तमान समस्याको निकास खोजिएको दोहोर्‍याउँदै अर्थमन्त्री पौडेलले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न व्यवधान शीघ्र अन्त्य हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

भारतको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्रमा परेको नकारात्मक असरप्रति सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो । साथै उहाँले सेजनको वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दिनमा अनौपचारिक आर्थिक गतिविधि बढेकामा चिन्ता व्यक्त गर्दै त्यस्ता क्रियाकलापले अर्थतन्त्रलाई ऋणात्मक बनाउने बताउनुभयो । इन्धन तथा दैनिक उपभोग्य वस्तुको अभावका कारण मूल्यमा चाप बढेको भन्दै उहाँले मुद्रास्फीतिलाई नियन्त्रण बाहिर जान नदिन केन्द्रीय बैंक गम्भीर बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भारतको व्यवहारका कारण देशको औद्योगिक क्षेत्र तहसनहस भएको भन्दै समग्र उद्योग क्षेत्रले झेल्नु परेको समस्या समाधान गर्न तराई–मधेसका जनताले पनि राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया