उखु किसान आन्दोलनमा

इनेप्लिज २०७२ मंसिर १४ गते ४:३२ मा प्रकाशित

ukhu_kishanपरासी, १४ मङ्सिर । नवलपरासीका उखु किसान चिनी उद्योगलाई उखु दिन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

पुरानो भुक्तानी नपाएर थलिएका उखु किसान यस पटक अघिल्लो वर्षको बाँकी भुक्तानी रकम उद्योगबाट नपाएको भन्दै उखु आपूर्ति बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

चिनी मिलले भुक्तानी देला र केही गरौँला भनेर बसेका उखु किसान यस पटकको तराई बन्दले झन थप चिन्तित बनेका छन् । नवलपरासीमा रहेका चारवटा ठूला चिनी मिलले गत वर्षहरुका किसानको उखुको पैसा दिएका छैनन् ।

मिलहरुले किसानलाई करोडौँभन्दा बढी रकम दिन बाँकी छ तर पनि किसान मिलको ज्यादति सहेर बस्न बाध्य छन् ।

गत वर्षको मौसममा नवलपरासीमा २२ लाख क्विन्टल उखु उत्पादन भएको थियो ।

नवलपरासीमा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती चिनी मिलले गत वर्षको किसानले पाउनुपर्ने कुल रु एक अर्बमध्ये रु ३० करोड मात्र भुक्तानी पाएको र रु ७० करोड लिन बाँकी रहेको उखु उत्पादक सङ्घको तथ्याङ्क छ ।

गत वर्षको तुलनामा भुक्तानीको झन्झटले यस वर्ष उखुको उत्पादन घटेर करिब १५ लाख क्विन्टलमा आउने उखु किसानका अगुवा प्रेमचन्द्र गुप्ताले जानकारी दिनुभयो ।

नवलपरासीमा करिब १० हजार बिगाहा क्षेत्रफलमा उखुको खेती गरिन्छ खास गरी नवलपरासीको निर्वाचन क्षेत्र नं ६ का अधिकांश गाविस उखुखेतीका लागि उर्वर मानिन्छ ।

प्रतिक्रिया