सोमबार, साउन १८ २०७८
काठमाडौं १२:१७
वासिङटन डिसी 02:32

संविधानले मुलुकलाई स्थायित्व दिँदैन: महामन्त्री सिटौला

इनेप्लिज २०७२ मंसिर १३ गते १३:४२ मा प्रकाशित

krishna-sitaulaकाठमाडौँ, १३ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको संविधानबाट मुलुकले स्थायित्व नपाउने बताउनुभएको छ ।

संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका नेता सिटौलाले संसद्को तल्लो सदनमा पनि मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएकाले मुलुकले स्थायित्व नपाउने बताउनुभयो ।

नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पस इकाइ समितिले आयोजना गरेको अन्तरक्रियामा महामन्त्री सिटौलाले तल्लो सदनमा सबै प्रत्यक्ष र माथिल्लो सदनमा समानुपातिक व्यवस्था गर्नुपर्ने काँग्रेसको प्रस्तावलाई अस्वीकार गरिएकाले मुलुक अस्थिरताको सिकार हुन लागेको तर्क गर्नुभयो ।

तत्कालीन संविधानसभाअन्तर्गतको संविधान मस्यौदा समितिका सभापतिसमेत रहनुभएका सिटौलाले तल्लो सदनमा पनि समानुपातिकको व्यवस्था गरिएको प्रति आफूलाई अहिलेसम्म पनि चित्त नबुझेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई समेटेर लैजाने नाममा चित्त नबुझ्दानबुझ्दै पनि कतिपय गलत विषय र व्यवस्थाहरु नयाँ संविधानमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ संविधान बनेपछि नेपाललाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने थियो, आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य हुन्छ, तर राजनीतिक स्थायित्व दिन नसक्ने संविधान बनेकाले आर्थिक समृद्धि पनि पछाडि धकेलिएको छ ।”

महामन्त्री सिटौलाले मानिसको गरिबी, रोग, भोक, अशिक्षा नहटेसम्म मानिसको दिमागमा विद्रोहको भावना रहिरहन्छ र मौका पाउन साथ विद्रोह प्रकट हुन्छ भन्दै मुलुकलाई फेरि पनि अस्थिरतामै रुमल्याउने फोहोरी खेलमा पुग्ने अवस्था देखापरेको बताउनुभयो ।

प्रतिक्रिया