मुस्ताङ बन्यो १२औँ पूर्ण खोपयुक्त जिल्ला

इनेप्लिज २०७२ मंसिर १३ गते ४:१२ मा प्रकाशित

vaccinationsमुस्ताङ, १३ मङ्सिर । हिमालपारिको जिल्ला मुस्ताङलाई नेपालकै १२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

शनिबार सदरमुकाम जोमसोममा एक समारोहका बीच व्यवस्थापिका–संसद्का सांसद श्रीमायाँ थकालीले जिल्लामा अब जन्मने बालबालिकालाई समेत खोपको पहुँच पुर्‍याउने प्रतिबद्धतासहित पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो ।

एक वर्षअघि कुञ्जो गाविसबाट सुरु गरिएको पूर्ण खोपयुक्त अभियानका क्रममा जिल्लाभरका एक वर्षभित्रका १९१ बालबालिका र एक वर्षदेखि २३ महिनाभित्रका १९६ बालबालिकामा खोप पहुँच पुगेपछि जिल्लालाई पूर्ण खोपयुक्त क्षेत्र घोषणाका लागि बाटो खुलेको खोप सुपरभाइजर बद्री आचार्यले जानकारी दिनुभयो ।

घोषणासभामा बोल्दै, सांसद थकालीले दुर्गम जिल्लाका बालबालिका खोपको पहुँचमा आउनु सराहनीय कार्य भएको भन्दै यसलाई निरन्तरता दिनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
जन्मेदेखि २३ महिनाभित्र बालिबालिकालाई बिसिजी, डिपिटी, पोलियो, दादुरा–रुबेलालगायत १० प्रकारका रोगविरुद्ध विभिन्न चरणमा खोपको मात्रा पूरा गरेपछि पूर्णखोप क्षेत्र घोषणा गर्न सकिने कानुनी प्रावधान छ । १६ वटा गाविस रहेको जिल्लामा असोज २८ गते लेते गाविसलाई अन्तिम गाविसको रुपमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिएको थियो ।

प्रतिक्रिया