उग्रतारा मेला

इनेप्लिज २०७२ मंसिर १० गते ३:१४ मा प्रकाशित

भीमदत्तनगर, १० मङ्सिर । डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा आजदेखि मेला सुरु भएको छ ।

कार्तिक शुक्ल पूर्णिमाको रातमा आज बुधबार रतेडी र बिहीबार दोस्रो दिन दिउसेडी लाग्ने मेला लाग्ने उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो । उग्रतारा मेलाको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको हुँदा मेलामा सुदूरपश्चिम तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्छन् । विगत वर्षमा मेला भर्न विभिन्न क्षेत्रका दर्शनार्थी उग्रतारा मन्दिरमा पुग्ने भए पनि यस वर्ष इन्धनको अभावमा कम आउने स्थानीयवासीले आँकलन गरेका छन् ।

कञ्चनपुर, कैलालीबाट पनि हजारौँको सङ्ख्यामा भक्तजन डडेल्धुरा पुग्ने क्रम जारी रहेको समितिले जनाएको छ । सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा पूर्णिमाका दिन शक्तिपीठमा पूजाअर्चना गर्नेको भिड हुन्छ । मेलाका अवसरमा दुई दिन सो क्षेत्रमा मदिरा निषेधित क्षेत्र कायम गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया