अत्यावश्यक औषधिको अभाव

इनेप्लिज २०७२ मंसिर ९ गते १४:४६ मा प्रकाशित

Medicineलुम्बिनी (रुपन्देही), ९ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दी र तराई/मधेसको आनदोलनका कारण औषधिको आयात ठप्प हुँदा रुपन्देहीलगायत यस क्षेत्रमा अत्यावश्यक औषधिको चरम अभाव भएको छ ।

बन्दका कारण जिल्लामा ‘लाइफ सेभिङ इन्जेक्सन’को पूर्णरुपमा अभाव रहेको अस्पताल र औषधि व्यवसायी सङ्घले जनाएको छ ।

त्यसमध्ये मुटुसम्बन्धी, आइसियु तथा इमर्जेन्सीका लागि प्रयोग हुने एट्रोपिन, टोपामिन, विजेक्सिन, धेरापालिन, लोराजिपामलगायतका २० भन्दा बढी प्रकारका औषधि सकिइसकेका छन् । त्यस्तै एनएस स्लाइन जस्ता औषधिसमेत जिल्लामा छैनन ।

बजारमा अत्यावश्यक औषधिका साथै मनोरोगीका लागि प्रयोग हुने औषधिको पनि अभाव छ । जुन भारतबाट मात्रै नेपालमा आउने गरेको थियो ।

नेपालमा आवश्यक पर्ने औषधिमध्ये ६० प्रतिशत औषधि भारतबाट आउने गरेको छ । नेपाली बजारमा औषधिको अभाव भएपछि सिमावर्ती जिल्लाका अधिकांश बिरामी भारतीय बजारमा गएर औषधि किन्न बाध्य भएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ लुम्बिनी अञ्चल शाखाका महासचिव सुरज भट्टराईका अनुसार नाकाबन्दीका कारण औषधि पसल तथा अस्पतालमा औषधि अभाव हुन थालेको भन्दै सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग पटक पटक आग्रह गर्दापनि औषधिको अभाव कायमै छ ।

औषधिको अभाव भएपछि कतिपय बिरामीले अस्पतालमा चिकित्सकको प्रेस्किप्सन लिएर भारतीय बजारमा गएर औषधि किन्नुपरेको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले अझै डेढ महिनाका लागि आफुहरुसँग अत्यावश्यक औषधि रहेको र छिट्टै आपूर्ति नभए गाह्रो पर्ने जनाएको छ । जिल्लामा जम्मा ७५ वटा सरकारी स्वास्थ्य संस्था रहेकोमा केहीमा अत्यावश्यक औषधिको अभाव हुन सुरु गरेको रुपन्देहीका जिल्ला जनस्वास्थ्य प्रमुख ऋषिप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

जिल्लामा अहिले सिटामोल, जीवनजल, आइरनलगायतका औषधिको तत्काल अभाव नरहने जनस्वास्थ्य प्रमुख लामिछानेको भनाइ छ ।

प्रतिक्रिया