भेडाच्याङ्ग्रा निर्यातबाट २९ करोड आम्दानी

इनेप्लिज २०७२ मंसिर ६ गते २:३० मा प्रकाशित

vedaaमुस्ताङ, ६ मङ्सिर । नेपालीहरुका दुई ठूलो पर्व दसैँ र तिहारमा हिमाली जिल्ला मुस्ताङबाट १८ हजार ३०८ भेडाच्याङ्ग्रा निर्यात भएको छ ।

उपल्लो मुस्ताङको विभिन्न छ गाविसबाट दसैँमा १५ हजार ३०८ र तिहारमा तीन हजार भेडाच्याङ्ग्रा जिल्लाबाट बाहिरिएको जिल्ला पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ ।

ती भेडाच्याङ्ग्राबाट यहाँका किसानले रु २८ करोड ७२ लाख ३६ हजार आम्दानी गर्न सफल भएका छन् । मुस्ताङका लोमान्थाङ, छोसेर, छोन्हुप, घमी र सुर्खाङलगायतका किसानले जिल्ला सदरमुकाम जोमसोमसम्म लिएर व्यापारीलाई भेडा प्रतिवटा रु १५ हजार र च्याङ्ग्रा रु १७ हजारमा बिक्री गरेका थिए ।

स्थानीय किसानबाट म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका व्यापारीले खरिद गरी बजारमा ल्याएका थिए । यसवर्ष भारतीय नाकाबन्दीका कारण तराई क्षेत्रबाट काठमाडौँमा खसी ल्याउन सम्भव नभएपछि नेपाल खाद्य संस्थानले पनि एक हजार भेडाच्याङ्ग्रा मुस्ताङबाटै लगेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

दसैँमा नौ हजार भेडा र छ हजार ३०८ च्याङ्ग्रा तथा तिहारमा तीन हजार भेडा निर्यात भएको पशुसेवा कार्यालयका प्राविधिक फलेन्द्र थकालीले जानकारी दिनुभयो । भेडाबाट रु १८ करोड र च्याङ्ग्राबाट रु १० करोड ७२ लाख ३६ हजार आम्दानी भएको प्राविधिक थकालीले जानकारी दिनुभयो ।

“यसवर्ष साविकको वर्षभन्दा करिब दुई हजार भेडाच्याङ्ग्रा कम आए, तिब्बतबाट नआउँदा स्थानीय किसानले पालेकै भेडाच्याङ्ग्रा बजार गएका हुन्”, प्राविधिक थकालीले भन्नुभयो – “उपल्लो क्षेत्रका किसानको आम्दानी हुने मुख्य मौसम नै दसैँ तिहार हो ।”

व्यापारीले किसानबाट सस्तोमा खरिद गरेर बजारमा भने भेडा कम्तीमा रु २० हजार र च्याङ्ग्रा रु २३ हजारसम्ममा बिक्री गरेका थिए । उपल्लो मुस्ताङलाई भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ ।

उच्च हिमाली क्षेत्रमा विभिन्न किसिमका जडीबुटी खाएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ । मुस्ताङमा भेडा कम र च्याङ्ग्रा बढी पाल्ने परम्परा छ भने अधिकांश भेडा तिब्बतबाट ल्याएर पाल्ने गरिन्छ ।

प्रतिक्रिया