खाडी मुलुक छाडेर सुन्तलाखेतीमा लागेका कृषक जिल्लाकै उत्कृष्ट

इनेप्लिज २०७२ मंसिर ५ गते २:०४ मा प्रकाशित

suntalaaफलेवास (पर्वत), ५ मङ्सिर । एक दशकभन्दा बढी खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्किएका उत्तरी पर्वतको विकट गाउँ शालिजाका कृषक नरु पाइजा जिल्लामै उत्कृष्ट बनेका छन् ।

साउदी अरबमा बसेर गतिलो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएर कृषि पेसा अङ्गालेका पाइजा अहिले जिल्लाकै नमुना कृषक बन्न सफल भएका हुन् । उनले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनी सुन्तला बिक्रीबाट छोटो समयमै रु पाँच लाख आम्दानी गर्न सफल भएका छन् । घर वरिपरि रहेको १० रोपनी जग्गामा व्यावसायिकरुपमा सुन्तलाखेती गरेका पाइजाले वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएको बताउँछन् ।

छोटो अवधिमै जिल्लाकै उत्कृष्ट बन्न सफल भएकामा उनले राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कार समेत प्राप्त गरेका छन् । पैतीसौँ विश्व खाद्य दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरिएको हो ।

जिल्लाका ४९ जना कृषकले आवेदन दिएकामा उनी उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । उनी ८२ नम्बर प्राप्त गर्न सफल भएका थिए ।

अहिले उनको घरमा ३५० वटा सुन्तलाका बोट रहेका छन् । यसमध्ये अहिले ५०÷६० वटा बोटले मात्रै फल दिने गरेका छन् । आफ्नो उत्पादन सदरमुकाम कुश्माबजार, बागलुङ, म्याग्दी र पोखरासम्म पनि पुग्ने गरेको पाइजाले बताए ।

सुन्तला मात्र हैन, पाइजाले गाउँमै व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन् । उनको फार्ममा अहिले ३०० भन्दा बढी ब्रोइलर कुखुरा छन् । ग्रामीण क्षेत्रमा मासुको मागलाई पूरा गरेको उनको अनुभव छ । पचास वर्षीय कृषक पाइजा भन्छन् – विदेश गएर १० वर्ष बिना उपलब्धि बिताइएछ । पहिल्यैदेखि गाउँमै बसेर सुन्तलाखेती गरेको भए अहिले वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्नसक्ने रहेछु । विदेश बसेको समयको अहिले पछुतो लागेको छ ।

स्वदेश फर्केलगत्तै उनले जिल्ला कृषि विकास कार्यालयमार्फत तालिम र परामर्श लिएर सुन्तलाखेतीमा लागेका हुन् ।

खाद्य दिवसको अवसरमा उनीबाहेक अन्य दुईजना कृषकले पनि राष्ट्रपति पुरस्कार प्राप्त गरेका छन् । कुस्मा नगरपालिकाका बङ्गुरपालक कृषक प्रेमबहादुर गुरुङ र कार्किनेटा गाविसका कफी उत्पादक कृषक भवानीप्रसाद शर्मा पनि पुरस्कृत भएका छन् ।

प्रतिक्रिया